नयाँ दिल्ली । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैंक (एडीबी)ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफबीएफएल)सँग दश करोड अमेरिकी डलर ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । जसले भारतमा कम आय समूहका महिलाहरूका लागि सूक्ष्म, साना र मध्यम आकारका उद्यम र व्यवसायमा पहुँच विस्तार गर्न सघाउने अपेक्षा गरिएको छ ।
सिन्ह्वाका अनुसार महिला उधारकर्ताहरूका लागि कम्पनीको ऋण पोर्टफोलियो बढाउने उद्देश्यले यस ऋणलाई परियोजनाको कोषका लागि प्रयोग गरिने बैंकले जनाएको छ । कोषहरू अन्तर्राष्ट्रिय मापदण्डसँग जोडिएको सामाजिक वित्त ढाँचाअन्तर्गत तैनाथ गरिनेछ, जुन एडीबी प्राविधिक सहयोगमार्फत बाह्य रूपमा प्रमाणित हुनेछ ।
यसले एफबीएफएललाई अनुकूल ग्राहक संलग्नता, डिजिटल वित्तीय साक्षरता कार्यक्रम, र समावेशी कार्यस्थल प्रशिक्षणसहित यसको सञ्चालनभित्र लैङ्गिक–उत्तरदायी अभ्यासहरू समावेश गर्न सहयोग गर्नेछ । भारतमा महिला उद्यमीहरू, विशेषगरी कम आय वर्गका महिला उद्यमीहरूले आर्थिक अभाव, अनौपचारिक आय स्रोत र सीमित वित्तीय साक्षरताजस्ता प्रणालीगत अवरोधहरूको सामना गर्दै आएको भारतका लागि एडीबीका कन्ट्री डाइरेक्टर मियो ओकाले बताएकी छिन् । एफबीएफएलले मुख्य सहरहरू र त्यसभन्दा बाहिर महिला उधारकर्ताहरूलाई सहयोग गर्ने लगायत कम सेवा प्राप्त क्षेत्रहरूको सेवा गर्न वित्त प्रदान गर्दछ भने कम्पनीले भारतमा ७०० भन्दा बढी शाखाहरूमार्फत चार लाखभन्दा बढी उधारकर्ताहरूलाई सेवा दिँदै आएको छ ।