कास्की । गृहमन्त्रालय र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रुपमा सोमबार यहाँ आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गते तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
तोकिएको मितिमा चुनाव नभए मुलकको अस्तित्व सङ्कटमा पर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले निर्वाचनका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनले केही हतिहार र अपराधी जेलबाट छुटेर बाहिर हिँडिरहेकाले निर्वाचन सम्पन्न गर्न चुनौती थपिन सक्ने आशंका व्यक्त गरे ।
“घोषणा गरिएको मितिमा यही सरकारबाट निर्वाचन सम्पन्न गर्नुपर्छ । एक पटक चुनाव सारियो भने अथवा प्रधानमन्त्री फेरियो भने यो मुलक राजनीतिक अस्थिरतामा कहाँ गएर फस्छ भन्न सकिने अवस्था छैन । चुनाव भएन भने राजनीतिक अस्थिरता अझ बढ्छ, सुरक्षा चुनौती मात्र होइन, मुलुकको अस्तित्व माथिनै चुनौती थपिन सक्छ”, मुख्यमन्त्री पाण्डेले भने ।
राजनीतिक दलहरुप्रति सरकार पूर्ण विश्वस्त हुन नसकेको तथा दलहरुले समेत कतै हामीलाई सरकारले बाहिर राखेर अघि बढ्न खोजेको हो की भन्ने परेकाले सरकार र दलबीच विश्वासको वावतावरण बनाउनुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।
सङ्घीय सरकार बाहेक बाँकी सरकारको नेतृत्व दलहरुका प्रतिनिधिले गरेकालेसमेत सङ्घीय, प्रदेश र स्थानीय तहबीच विश्वासिलो तथा भरोसायोग्य वातावरण बनाउनुपर्ने उनको भनाइ छ । सङ्घीय, प्रदेश र स्थानीय तहबीचको सरकारबीच समन्वय सम्बन्ध र विश्वासिलो वातावरण बनाउँदा मात्र हामीमाथि थपिएको सुरक्षाको चुनौती र निर्वाचन सम्पन्न गर्नका लागि थपिएको चुनौती सामना गर्न सकिने पाण्डेले बताए ।