काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ ।
‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर मोटरसाइकल (एन१६०) पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी लायन्सका कप्तान तथा सबैभन्दा बढी रन बनाएका रोहितकुमार पौडेलले पल्सर मोटरसाइकल प्राप्त गरे । उनले यस सिजनमा २ सय ७६ रन जोडेका हुन् । विराटनर किंग्सका कप्तान तथा सबैभन्दा बढी विकेट लिएका सन्दीप लामिछानेलाई पनि पल्सर मोटरसाइकल प्रदान गरिएको हो । लामिछानेले १७ विकेट हात पारेका हुन् । यस सिजनकै इमर्जिङ प्लेयरको उपमा पाएका लुम्बिनीका शेर मल्ललाई पल्सर मोटरसाइकल प्रदान गरिएको गोल्छा ग्रुपले जनाएको छ । यस टुर्नामेन्टमा सानदार बलिङ गरेका मल्लले १७ विकेट लिएका थिए ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले कम्पनीले खेललाई सधैँ प्राथमिकतामा राख्दै आएको जानकारी दिए । यसअघि कात्तिक १३ गते गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने सम्झौता भएको थियो । कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करण मंसिर २७ गते शनिबार सम्पन्न भएको छ ।