काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफा मध्येबाट पाँच दशमलव २६ प्रतिशतका दरले हुन आउने तीन करोड ३१ लाख सात हजार नौ सय ७७ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांश मध्येमा पाँच प्रतिशतका दरले हुन आउने तीन करोड १४ लाख ५२ हजार पाँच सय ७८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशतका दरले हुन आउने १६ लाख ५५ हजार तीन सय ९८ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ । लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको यही मंसिर २७ गते बसेको एक सय ८२ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । संस्थाको हाल चुक्ता पुँजी ६२ करोड ९० लाख ५१ हजार पाँच सय ६४ रुपैयाँ रहेको छ ।