काठमाडौँ । विशेष अदालतले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई जग्गा खरिद प्रक्रियामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिवादीहरूमािथ अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गरेको निर्णयको सक्कल फाइल पेस गर्न आदेश दिएको छ । नेपालसहितका प्रतिवादीहरूमाथि अख्तियारमा परेको उजुरी र निर्णयको सक्कल फाइल पेस गर्न आदेश दिइएको हो । अख्तियारले २०६९ मंसिर २५ गते भ्रष्टचार मुद्दा लैजाने निर्णय गरेको थियो ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको सोमबारको इजलासले अख्तियारको नाममा उक्त आदेश दिएको हो । साथै न्यायाधीसद्वय पौडेल र श्रेष्ठले जग्गा खरिद प्रक्रियामा संलग्न प्रतिवादीहरूलाई भौतिकरूपमा वा श्रव्यदृष्य माध्यममार्फत उपस्थित गराई बकपत्रको निमित्त इजलाससमक्ष पेस गर्न समेत अख्तियारलाई निर्देशन दिएका छन् ।
अख्तियारले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई जग्गा खरिदबिक्रीमा पदीय दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले जेठ २३ गते तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयूर्वेद कम्पनी, नेपालका प्रमुख शालीग्राम सिंहसहित ९३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ र भूमिसम्बन्धी ऐन, २०२१ विपरीत काम गरेको भन्दै मुद्दा दायर गरेको छ ।
नेपालमाथि हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनीरूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन पूर्वप्रधानमन्त्री नेपालले निर्देशन दिएका थिए । अख्तियारले नेपालविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो ।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी, नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचेको उजुरी परेसँगै अख्तियारले अनुसन्धान अघि बढाउँदा उक्त काम कानुनविपरीत भएको ठहर गरेको थियो । पतञ्जलीले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरी, कम मूल्यमा समेत खरिद गरी बढी मूल्यमा बेचबिखन गरी सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको अख्तियारले ठहर गर्दै मुद्दा अघि बढाएको थियो ।
उक्त कम्पनीले २०६४ मंसिर २४ गते जग्गा खरिद गर्न सुरु गरी २०६५ पुस २७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको साबिक साँगा, महेन्द्रज्योति र चलालगणेशस्थान गाविसमा पाँच सय ५४ रोपनी पाँच आना एक पैसा जग्गाको लिखत पारित गरिएको थियो । त्यसपछि सोही लिखतको आधारमा जग्गाधनी दर्ता श्रेस्ता र जग्गाधनी दर्ता प्रमाण पुर्जा समेत तयार गरी प्रमाणित गरिएको थियो । उक्त कम्पनीको नाममा पारित भएको साबिक साँगा र महेन्द्रज्योति गाविसको कुल क्षेत्रफल तीन सय १४ रोपनी १५ आना दुई पैसा एक दाम रोपनी जग्गाहरूमध्ये दुई सय ५२ रोपनी तीन आना एक पैसा शून्य दशमलव २५ दाम जग्गाको जग्गाधनी गुठी संस्थान हिटिचोक सदावर्त गुठी भई उक्त कम्पनी मोही रहेको अवस्थामा गलत लिखत तयार गरेको भेटिएको अख्तियारले दाबी रहेको छ ।