प्रकृति र संस्कृतिको अनुपम सङ्गमस्थल शैलुङ दोलखा र रामेछाप जिल्लाको सिमाना पर्छ । दोलखाको शैलुङ र मेलुङ गाउँपालिका तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका भित्र पर्ने यस धार्मिक एवम् पर्यटकिय स्थल अति रमणीय स्वर्गको टुक्रा जस्तै छ । शैलुङ लेकको नामकरणको भिन्न किंवदन्ती पाइन्छ । शैलुङ लेकमा सय वटा थुम्का रहेकोले यसको नाम सयलुङ वा शैलुङ भएको जनश्रुति धेरै प्रचलनमा रहेको छ । नामकरण सम्बन्धमा बोन धर्म संस्कृति, भाषा, बौद्ध र हिन्दू धर्मावलम्बीको विश्वास, प्राकृतिक सौन्दर्य, जैविक विविधता आदि कोणहरूबाट व्याख्या र विश्लेषण भई नै राखेका छन् । नामकरण र यहाँको पवित्रताले गर्दा शैव, बौद्ध, बोन धर्महरूको साझा आस्थाको केन्द्रको रूपमा शैलुङलाई महत्व दिंदै आएको हो । शैलुङमा सातौँ शताब्दीमै गुरु पद्यसम्भवले पाइला राखेको बौद्धवलम्बीको विश्वास छ ।
शैलुङको उत्तरतिर शैलुङ्गेश्वर महादेव गुफा रहेको छ । यस महादेवस्थानमा जनैपूर्णिमा र बालचतुर्दशीका दिन भव्य मेला लाग्ने गरेको छ । मोलामा झाँक्रीहरू ढ्याँग्रोसहित पूजाआजा र दर्शन गर्न आउँछन् । यहाँका प्रमुख दुई वटा गुफामध्ये एउटामा रहेको पापी र धर्मात्मा खुट्याउने भनिएको धर्मद्वार निकै चर्चामा रहने गरेको छ । शैलुङमा अनेक आकृतिका चट्टान छन् । डाँडामा रहेको एउटा बाघ र अर्को गाई आकृतिको चट्टान छ, जसलाई बाघढुंगा र गाईढुङ्गाको नामाकरण गरिएको छ । बाघढुङ्गे नजिकै एउटा ढुङ्गा छ जसलाई पृथ्वीको नाइटो भन्ने गरिन्छ । यसको नजिकै एउटा पाइलाको आकृति पनि छ जसलाई हिन्दू धमावम्बीे महादेवको, बौद्धधर्मावलम्बीले गुरु रिम्पोछे र बोन झाँक्री धर्मावलम्बीले गुरु सेरबले टेकेको पाइलाको रूपमा विश्वास गर्ने गरेका छन् । शैलुङभन्दा करिब सातसय मिटर अग्लो पवित्र तीर्थस्थल कालिञ्चोकबाट बेगले उडेर आएको डाँफे बसेको ढुङ्गालाई डाँफेढुङ्गा भनिने गरिएको छ । शैलुङमा ठूली एकादशी, जनैपूर्णिमा, बुद्धजयन्ती, धान्यपूर्णिमामा विशेष किसिमको जात्रा मेला लाग्ने गरेको छ । विभिन्न सम्प्रदायका धामी झाँक्रीहरूको लागि साधना केन्द्रको रूपमा पनि शैलुङलाई लिइन्छ । शैलुङको सभ्यता संस्कृति, परम्परा, विश्वास, विविधता, सौन्दर्य र त्यसका आधारमा दिगो पर्यटकीय विकासमा सरकार र सरोकार पक्षको ध्यान जानु आवश्यक छ ।
मौसम अनुसारको सदाबहार सुन्दरता शैलुङको विशेष विशेषता हो । यहाँ वसन्त ऋतुमा गुराँश, चिमाल र चाँप फुल्ने मुख्य समय हो । त्यस्तै शरद ऋतुमा वरिपरि देखिने चाँदी जस्तै टल्किने हिमश्रृङ्खलाहरू, साथै हिउँदको अधिकांश समयमा शैलुङका थुम्काहरूमा हिउँले ढाकिंदा देखिने मनोरम दृश्यमा पर्यटक रमाउने अवसर प्राप्त हुन्छ । शैलुङ वरिपरि तथा बाटोमा विभिन्न प्रजातिका हरिया बोटविरुवाले मनमा उमंग छाउने गर्छ । शैलुङको थुम्कासम्मको यात्राक्रममा प्राकृतिक शौन्दर्यतामा विविधता देख्न पाइन्छ । यहाँ जाडो मौसमको अधिकांश समय हिउँले ढाकेको हुन्छ । शैलुङगको शिखरबाट सगरमाथा, गौरीशंकर, अन्नपूर्ण, मनासलु, गणेश र लामटाङ हिमालहरू छर्लङ्ग देखिन्छन् । दोर्जेलाक्पा, मेलुङ्त्से नम्बुरलगायतका ६० वटाभन्दा बढी हिमश्रृङ्लाहरू पनि सहजै देखिन्छन् ।
मौसमअनुसार सदैव मनोरम वातावरण रहिरहने शैलुङको यात्रा रोचक र अविस्मरणीय रहने गर्छ । हिउँदमा हिउँ र हिमालको अनुभव र दृश्यावलोकन गर्ने अवसर प्राप्त हुन्छ । बर्खाको समयमा हरियाली, भुइँकुहिरोको लुकामारी, चौरीसँगको सामिप्यता, चौरमा विभिन्न प्रजातीका फूल तथा अन्य वनस्पतिले शोभायमान बनाएको हुन्छ । गुराँस, चिमाल र चाँप फुल्ने समयमा तथा हरियाली थुम्काहरूमा दौडिएर पुग्ने उत्कट इच्छाले यात्रुहरू रोमाञ्चित हुनु स्वभाविकै हो । नेपालमा पाइने ३४ प्रजातिका गुराँशमध्ये शैलुङ क्षेत्रमा मात्रै १८ प्रजातिका गुराँश पाइन्छन् । प्राकृतिक सुरम्यता र सौन्दर्यताका कारण यात्रुहरूले उकाली ओराली हिंड्दाको थकाइ नै महशुस गर्दैनन् ।
शैलुङको पर्यटकीय महत्व क्रमशः बढ्दै गएको छ । शैलुङ यात्रा शान्ति, मनोञ्जन र स्वास्थ्यको त्रिवेणीको रूपमा पर्यटकले महशुस गर्ने गरेका छन् । शैलुङका प्रचार प्रशारका साथसाथै त्यहाँ हुने गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमहरूले पनि यसको महत्व झन बढ्दै गएको छ । विगतमा साहित्यिक महोत्सव, विभिन्न सेमिनार र धार्मिक अनुष्ठान भइसकेका छन् । विसं २०७६ वैशाख १३, १४ गते खोलाखर्क शैलुङ महोत्सव, २०७८ फागुन २०,२१ शैलुङ साँस्कृतिक महोत्सव आयोजना गरिएको थियो । सुनापति शैलुङ अल्टा« म्याराथुन दौड समितिले तीन वर्षदेखि शैलुङ अल्ट्रा रेस सञ्चालन गर्दै आएको छ । महिला पुरुष खुला ५५ किलोमिटर र पाँच किलोमिटर दौडमा विश्वभरका धावकहरू सहभागी हुने गरेका छन् । यस दौड आयोजनाको लागि रामेछापका खाँडादेवी, सुनापति, र दोरम्बा शैलुङ गाउँपालिको सहयोग र सहकार्य हुँदै आएको छ । त्यहाँ निर्माण गरिएका र निर्माणाधीन रहेका संरचनाहरूले पनि पर्यटनलाई थप आकर्षित गरेको छ । मिनि ग्रेटवाल, आध्यात्मिक केन्द्र, विज्ञान पार्क, साहित्य घर तथा फर्पुमा सञ्चालित भियतनामी बुद्धिष्टको ध्यानकेन्द्रका ८० कुटीलाई धार्मिक पर्यटनको अर्को आकर्षण बन्ने विश्वास गरिएकोे छ । शैलुङमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेसँगै सुविधा सम्पन्न होटलहरूको विकास र विस्तार हुँदै गएका छन् ।
समुद्री सतहबाट तीन हजार एक सय ४६ मिटर उचाइमा रहेको शैलुङ दोलखा तथा रामेछाप जिल्लाबाट पुग्न सकिन्छ । काठमाडौंबाट एक सय २२ किलोमिटरको दूरीमा रहेको शैलुङको चल्तिको बाटो काठमाडौ, धुलिखेल, मुडे हुँदै यातायातको साधनबाट पुगिन्छ । सवारीसाधनबाट उत्रेपछि करिब चार किलोमिटरको पैदल पछि शैलुङको सौन्दर्यको रसस्वादन लिन सकिन्छ । हाइकिङ, राइडिङ, साइक्लिङ, घोडचढीबाट पनि शैलुङ पुग्न सकिन्छ । ट्राभल टुर्स एजेन्सीहरूले समेत शैलुङ, कालिञ्चोक, चरिकोट, भिमेश्वरसमेत समेटेर वा छुट्टाछुट्टै टुर प्याकेज पनि सञ्चालन गरेका छन् । राजधानीे काठमाडौंबाट सहज किसिमले पुग्न सकिने शैलुङको पर्यटकीय महत्व उदियमान छ । यसको प्रबर्द्धन र व्यवस्थापन गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारको साथै स्थानीय वासीको अहं भूमिकालाई सबै पक्षले आत्मसात गर्न चुक्नुहुन्न । बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झैं प्रचारप्रशारमा व्यापकता र सर्वसुलभ गुणस्तरीय सेवासुविधाको सुनिश्चिताको लागि पर्यटन व्यवसायीको ध्यान जानु शैलुङको पर्यटन प्रबर्द्धनका लागि अपरिहार्य देखिन्छ ।