काठमाडौं । नेपाल हस्तकला महासंघले निर्यातकर्ता उद्यमी र कलाकारलाई सम्मानलाई सम्मान गरेको छ । महासंघको ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
हस्तकला निकासीमा महत्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट निकासीकर्ता एभरेष्ट फेसन, ओम साई राम फेल्ट प्रोडक्ट प्रालि, एभरेष्ट फेसन फेल्ट एन्ड निट प्रालि, फिन्जो सोनाम इन्टरप्राइजेजलाई महासंघले सम्मान गरेको छ । यस्तै १० करोडभन्दा माथि निकासी समूहका देवचक्र एक्सपोर्ट प्रालि, माइन्डफुल क्राफ्ट प्रालि, उत्कृष्ट उद्यमी बागमती आर्टस एन्ड ह्यान्डिक्राफ्टसकी सगुना श्रेष्ठ, परम्परागत विधामा उत्कृष्ट कलाकार मनोज शाक्य, नेपाल कुरियर सेवा संघ र हस्तकला प्रवद्र्धनसम्बन्धी कार्यमा सहयोग पुर्याउने एभरेष्ट दी कार्गोलाई सम्मान गरिएको महासंघले जानकारी दिएको छ । साथै महासंघको वार्षिकोत्सव तथा हस्तकला दिवस कार्यक्रमको प्रायोजन गरेकोमा न्यू विजनेस एज लिमिटेड (आर्थिक अभियान), एनएमबी बैंक लिमिटेड, फेडेक्स, विराट ग्लोबल प्रालिलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, नेपाल उद्योग, वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जन श्रेष्ठलगायतले उनीहरुलाई सम्मान गरेका थिए । साथै कार्यक्रममा महासंघ र एनएमबी बैंकबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर पनि गरिएको थियो । महासंघका अध्यक्ष रविन्द्र शाक्यले ५३औँ वार्षिकोत्सव तथा १४औँ हस्तकला दिवस सचिवालयमा झण्डोतोलन गरी प्रारम्भ गरेका थिए । त्यसैगरी सोही अवसरमा ललितपुरस्थित बागमतीको पुल नजिक रहेको महासंघको स्वर्ण स्तम्भमा माल्र्यापण पनि गरिएको थियो । साथै हस्तकला क्षेत्रका सिद्धहस्त विभिन्न विधामा संलग्न ७० वर्ष उमेर पुरा भएका १७ जना ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरेको महासंघले जनाएको छ ।