काठमाडौँ । एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ पर्नेमा हाल कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भएका १९ वर्षीय मुन्ना यादव, हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने २३ वर्षीय मोरङ कानेपोखरी गाउँपालिका–५ घर भएका डोरराज परियार, तनहुँ मिर्लुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने ३४ वर्षीय कृष्ण भण्डारी रहेको जानकारी दिएका छन् ।
पक्राउ परेका परियारसहितलाई प्रारम्भिक अनुसन्धान गर्दा भारतको रक्सौल हुँदै काठमाडौँसम्म लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गर्दै आएका पाइएको जनाउँदै उनले यस कार्यको योजनाकार भारतीय नागरिक यादव रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक आचार्यले पक्राउ परेकाको साथबाट डायजेपाम इन्जेक्सन दुई हजार ३९५ थान, प्रोमेथाजिन हाइड्रोकोराइड इन्जेक्सन दुई हजार ३०० थान, बुप्रेनोर्फिन इन्जेक्सन दुई हजार १५६ थान, ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (५० मिलिग्राम) दुई हजार ७०० थान तथा मोबाइल फोन १० थान बरामद गरिएको जानकारी दिए ।
उनले भने, “काठमाडौँ कुलेश्वरमा लागुऔषध बिक्रीवितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई हाम्रो टोलीले पक्राउ गरेको हो ।” पक्राउ परेका तीनै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता आचार्यले बताए ।