जेनेभा । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ । सहायता कटौती शरणार्थीहरूका लागि अनावश्यक अपमान भएको र यसका कारण उनीहरूको पीडामा तस्कर र राजनीतिज्ञहरूले खेलिरहेको राष्ट्रसंघको भनाइ छ ।
निवर्तमान संयुक्त राष्ट्रसंघ शरणार्थी प्रमुख फिलिपो ग्रान्डीले भने, ‘यो वर्ष विश्वका जबरजस्ती विस्थापितहरूका लागि लगातार संकटहरूको विशेष आँधी थियो । सन् २०२५ को मध्यमा ११ करोड ७० लाख ३० हजार मानिस कुनै न कुनै रूपमा सहायताको आवश्यकतामा रहेको अनुमान गरिएको थियो । उनले सुडान, युक्रेन, गाजा र म्यान्मामा गरिएको ‘व्यापक अत्याचार’ को निन्दा गर्दै सहायताको ‘अचानक, कठोर, गैरजिम्मेवार र अदूरदर्शी कटौती’ प्रति विश्व समुदाय र संघसंस्थाको ध्यानाकर्षण गराए । सहायतामा एक्कासी भएको कटौतीले शरणार्थी जीवन विताइरहेका मानिसहरूलाई अत्यधिक अनावश्यक पीडा दिएको पनि उनले दाबी गरे ।
पछिल्लो दशकमा जबर्जस्ती विस्थापितहरूको सङ्ख्या झन्डै दोब्बर भएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि अन्तर्राष्ट्रिय सहायताका लागि गरिने रकममा कमी आएको छ । जेनेभामा द्विवार्षिक ‘विश्व शरणार्थी मञ्च प्रगति समीक्षा’ कार्यक्रमको उद्घाटन गर्दै ग्रान्डीले घृणाले नश्लवादी विभाजन फैलाउने विश्वव्यापी सन्दर्भको निन्दा गरे ।
संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (यूएनएचसीआर) का प्रमुख ग्रान्डीले भने, ‘यो वर्ष शरणार्थीहरूलाई बारम्बार गाली गरियो, धेरै ठाउँहरूमा बलिको बोको बनाइयो, उनीहरूको पीडालाई तस्करहरूले नाफाका लागि प्रयोग गरे र राजनीतिज्ञहरूले उनीहरूको अवस्थालाई भोट प्राप्त गर्न प्रयोग गरे ।’
जेनेभामा तीन दिने भेलामा एक हजार ८०० भन्दा बढी सहभागीहरू भेला भएका छन् र यसले विश्वभरका लाखौँ विस्थापित व्यक्तिहरूको लागि समाधान खोज्ने प्रयास गर्नेछ । जेनेभास्थित यूएनएचसीआर अन्य धेरै संयुक्त राष्ट्रसंघीय निकायहरू जस्तै अन्तर्राष्ट्रिय सहायता कटौतीको कारण काम गर्न कठिनाई भोगिरहेको छ । यसले यस वर्ष करीव पाँच हजार रोजगारी गुमाएको छ, जुन यसको कार्यबलको एक चौथाइभन्दा बढी हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा परम्परागत रूपमा विश्वको शीर्ष दाता संयुक्त राज्य अमेरिकाले ठूलो मात्रामा विदेशी सहायतामा कटौती गरेको छ। विश्व बढ्दो विस्थापनको समस्यासँग जुधिरहेको छ । यूएनएचसीआरको आर्थिक सहयोग यस वर्ष ३५ प्रतिशतले कटौती गरिएको छ । यसअघि वासिङ्टनले युएनएचसिआरको बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो । अन्य प्रमुख दातृराष्ट्रले पनि आफ्नो बजेटमा कडाइ गरिरहेका छन् । युएनएचसीआरको १० वर्षको नेतृत्वपछि ग्रान्डीले डिसेम्बरको अन्त्यमा पद छोड्दै छन् । रासस/एएफपी