काठमाडौँ । सशस्त्र प्रहरी बलले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिजलबिजक तथा भन्सार प्रज्ञापनपत्रसमेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई नियन्त्रणमा लिइएको मंगलबार जानकारी दिएको हो ।
बरामद सामानको अन्दाजी मूल्य सात लाख २२ हजार १० रूपैयाँ र गाडीको १५ लाख मूल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रूपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका सामान स्टेशनरी, खेलकुद तथा किरानालगायतका सामान रहेका छन् ।
बरामद सामान तथा गाडीसहित नियन्त्रणमा लिइएका तामाङ्गलाई आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिए ।