पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम अगाडि बढिरहेको बताइन् ।
कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्रिय रहेको भन्दै प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउन नहुने बताइन् ।
उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् । उनले भनिन, "मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रासामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन हो” ।
समारोहमा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले निर्वाचनलाई सफल गराउन जेनजी समूहले सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरपालिका विभिन्न समयमा योगदान पुर्याउने विभिन्न तहमा रहेका व्यक्तित्वको योगदानबाट आजको अवस्थासम्म आइपुग्न सफल भएको बताइन् ।