बेइजिङ । चीनले युरोपेली संघ (इयू)को सुँगुरको मासुको आयातमा पाँच वर्षका लागि ‘एन्टी–डम्पिङ’ शुल्क लगाउने घोषणा गरेको छ । सेप्टेम्बरदेखि कायम गरिएको अस्थायी शुल्कभन्दा यो शुल्क कम दरमा हुने बेइजिङले मंगलबार जनाएको छ ।
एएफपीका अनुसार केही युरोपेली मुलुकहरूको दृष्टिकोणमा यी दुई आर्थिक महाशक्ति इयू र चीन बेङजिङसँगको असन्तुलित आर्थिक सम्बन्धका कारण व्यापार विवादमा फसेका छन् । वाणिज्य मन्त्रालयले मंगलबार एक विज्ञप्तिमा भनेको छ, ‘गत वर्ष चीनले सुरु गरेको अनुसन्धानले युरोपेली सुँगुरको मासु (पोर्क) थुप्रिएको र यसको परिणामस्वरूप घरेलु उद्योगले ठूलो क्षति बेहोरेको छ ।’
‘एन्टि–डम्पिङ’ शुल्क यसपहिलेको ४.९ प्रतिशतबाट बढाएर १९.८ प्रतिशतसम्म हुनेछ भने अस्थायी कर ६२.४ प्रतिशतबाट घटेर १५.६ प्रतिशतमा पुर्याइएको छ । यो डिसेम्बर १७ देखि लागू हुनेछ । वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अहिले घरेलु उद्योगले कठिनाइको सामना गरिरहेको छ र सुरक्षाका लागि कडा माग भइरहेको छ ।’
उनीहरूले अनुसन्धानको निष्कर्ष ‘वस्तुनिष्ठ, निष्पक्ष र पषपातरहित’ भएको बताए । युरोपको सुँगुरको मासुको आयातका लागि प्रमुख राष्ट्र स्पेनका कृषि मन्त्री लुइस प्लानासले भने, ‘स्पेनका निर्यातकर्ताहरूले घोषणा गरिएको समग्र औसत १९ प्रतिशतभन्दा कम औसत ९.८ प्रतिशतको कर तिर्नुपरेको छ ।’
मन्त्री प्लानासले यी उपायहरु स्पेनका लागि स्वीकार्य रहेको बताउँदै नतिजालाई न्यूनीकरण गरिएको उल्लेख गरे । विश्वको प्रमुख सुँगुरको उपभोक्ता चीनले गत वर्ष स्पेनबाट मात्रै ४.३ अर्ब युआन (६० करोड अमेरिकी डलर) सुँगुरको मासुजन्य पदार्थ आयात गरेको चीनको आधिकारिक भन्सार तथ्यांकले देखाएको छ । फ्रान्सको उद्योग संघ (इनापोर्क)का अनुसार फ्रान्सले २०२४मा एक लाख १५ हजार टन सुँगुरको मासु चीनमा निर्यात गरेको थियो ।
नयाँ उपायहरू अनुसार, फ्रान्सको प्रमुख पोर्क उत्पादक ग्रुप बिगार्डसँग ९.८ प्रतिशत शुल्क लिइनेछ र डेनिस क्राउनलाई १८.६ प्रतिशत शुल्क लगाइनेछ । हालको व्यापार विवाद गत गृष्मकालमा इयूले बेइजिङको कर्जा सहुलियतले युरोपेली प्रतिस्पर्धीहरूलाई अनुचितरूपमा प्रभावित गरिरहेको तर्क गर्दै चिनियाँ विद्युतीय सवारीसाधनहरूमा भारी कर लगाउने दिशामा अघि बढेपछि सुरु भएको थियो । बेइजिङले इयूको उक्त दाबीलाई अस्वीकार गर्दै आयातित युरोपेली सुँगुरको मासु, ब्रान्डी र दुग्धजन्य पदार्थको प्रतिशोधात्मक अनुसन्धानको घोषणा गरेको हो ।
स्पेनी मासु उद्योग संघ (एनिस)का महानिर्देशक जुसेप्पे अलोइसियोले भने, ‘यो कदम ‘अनुचित’ हो र यसले ‘उदाहरणीय उद्योगलाई विनाकारण दण्डित गर्छ । हाम्रो क्षेत्र व्यापार विवादमा सौदाबाजीको साधनको रूपमा प्रयोग गरिएको छ । यो अस्वीकार्य छ । विद्युतीय सवारीसाधनको हामीसँग कुनै सम्बन्ध छैन ।’