काठमाडौँ । तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङ प्रालिका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु कम्पनी स्वयम्लाई प्रतिवादी बनाएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला अदालत काठमाडौंमा दिएको मुद्दा दर्ता भएको छ ।
अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नेपाल ट्रस्टको जग्गा प्रकरणमा उक्त तीनै जना र कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा भाडामा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ । मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय समेत माग गरिएको छ ।
यति होल्डिंग्सअन्तर्गत रहेको थामसेर्कु ट्रेकिङ प्रालिले सरकारबाट ३० वर्षको लागि जग्गा भाडामा पाएको थियो । यसमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको हो । यसको प्रतिवेदन जिल्ला सरकारी वकिल काठमाडौंलाई बुझाएपछि मुद्दा दायर भएको सीआईबीले जनाएको छ । यही प्रकरणमा सीआईबीले पूर्वसहसचिव कार्कीलाई गत कात्तिक २१ र पूर्वसचिव कार्कीलाई गत कात्तिक ३० गते पक्राउ गरेको थियो । पक्राउ परेका अर्जुन कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दिएपछि प्रहरीलाई दबाब बढे पनि अन्ततः मुद्दा दायर गर्न सफल भएको हो । हालसम्म खुलेका तथ्यसहित प्रतिवेदन पेस गरेको सीआईबीको दाबी छ ।
यो मुद्दा दरबारमार्गको जग्गासँग सम्बन्धित छ । जुन २०७१ साउन २८ मा भाडामा दिन स्वीकृति प्रदान गरिएको थियो । लगत्तै दुई वर्षपछि प्रक्रिया मिलाएर सेटिङमा थामसेर्कुले प्रस्ताव गरेको छ अर्ब बढी रकम घटाएर एक अर्ब ४० करोडको प्रस्ताव गरेको थियो । यसको मुख्य कारण अरुको प्रस्ताव कम रकममा हुनु थियो । सीआईबीले यसैलाई अनियमितता र भ्रष्टाचारको मुख्य प्रमाण मान्दै प्रतिवेदन तयार गरी मुद्दा दायर गरेको छ ।