नेकपा एमालेको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। प्यानलगत प्रतिस्पर्धामा अधिकांश पदमा अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार विजयी भएका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतान्तरसहित विजयी हुँदा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले अपेक्षित मत ल्याउन सकेनन्।
महासचिव पदमा भने कडा प्रतिस्पर्धा देखिए पनि संस्थापन पक्षका शंकर पोखरेल दुई सयभन्दा बढी मतान्तरले विजयी भएका छन्। निर्वाचन परिणामले पार्टीभित्र संस्थापन पक्षको प्रभाव अझ सुदृढ भएको संकेत गरेको छ। यद्यपि, संस्थापन इतर वा ईश्वर पोखरेल प्यानलबाट पनि केही उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका छन्। कुल १९ सदस्यीय पदाधिकारीमध्ये १७ जना संस्थापन पक्षका रहेका छन्।
निर्वाचित पदाधिकारी टिमअनुसार अध्यक्षमा केपी शर्मा ओली चयन भएका छन्। उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन्। महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई चयन भएका छन्।
सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका छन्।चुनावी परिणामसँगै एमालेको नयाँ नेतृत्व संरचना स्पष्ट भएको छ भने आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशा र रणनीतिमा ओली नेतृत्वको प्रभाव निर्णायक रहने देखिएको छ।