काठमाडौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकमा लगानीको लागि उपयुक्त समय भएको बताएका छन् ।
नेपाल समुद्रपार निकासी पैठारी संघका पदाधिकारीहरुसँगको छलफलमा उनले लगानी गर्ने समयको सदुपयोग गर्नको लागि व्यवसायीहरुलाई आग्रह गरे । ‘लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर हुने पनि चुनौतीभित्रै हो । अहिले जसले आँट गरेर लगानी गर्न सक्छ, त्यसले सफलता पाउँछ,’ उनले भने । अहिले बैंकमा तरलता प्रशस्त छ । उनीहरु ऋण दिन तयार छन् । यो बेला सस्तो ब्याजदरको ऋण लिएर काम गर्नेले राम्रो प्रतिफल पाउँछ । उनले निजी क्षेत्रका संघसंस्थासँग हातेमाले गरेर अघि बढ्न चेम्बर तयार रहेको पनि बताए ।
नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष शिवकुमार अग्रवालले व्यवसायीमा अन्योल छाएको वर्तमान अवस्थामा मनोबल उकास्न लागि परेको बताए । यो बेला चेम्बरलगायत निजी क्षेत्रका संस्थाहरुको सहकार्यले व्यवसायीमा सकारात्मक ऊर्जा प्राप्त हुने उनको भनाइ छ ।
चेम्बर र संघ दुवै क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरु भएकोले दुवैका सरोकारका विषय लगभग समान रहेको उनले बताए । चेम्बर निजी क्षेत्रको प्रभावशालीमध्येको एक संस्था रहेकोले अन्य संघसंस्थाले चेम्बरबाट सिक्दै अघि बढ्नुपर्ने र चेम्बरले उनीहरुलाई मार्गदर्शन गर्नुपर्ने उनको भनाइ छ । दुई संस्थाका पदाधिकारीबीच व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा वृहत् छलफल भएको थियो ।