विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरुले शान्ति–सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।
उद्योग संगठन मोरङका प्रतिनिधिहरुले संघिय सरकारका अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीसँग भेटी लगानीमैत्री वातावरण बनाउन सुझाव दिएका हुन् । उद्योग संगठन मोरंगका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रले मुलुकको आर्थिक, औद्योगिक तथा सामाजिक विकासमा पुर्याउँदै आएको योगदानलाई मध्यनजर गर्दै सरकारले स्पष्ट, सकारात्मक र भरोसायुक्त सन्देशमार्फत निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याएका थिए । राठीले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उद्योग–व्यवसाय क्षेत्रको निर्वाध सञ्चालनका लागि प्रक्रियागत जटिलताको सरलीकरण, शान्ति–सुरक्षाको प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माण अत्यावश्यक रहेको बताए । निजी क्षेत्रले ती विषयको प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न आग्रह गरेको संगठनका उपाध्यक्ष विपिन कावराले जानकारी दिए ।
छलफलका क्रममा मन्त्रीहरूले संगठनद्वारा प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा लिँदै तत्काल कार्यान्वयन गर्न सकिने विषयहरू यथाशीघ्र अघि बढाउने र नीतिगत प्रकृतिका विषयहरू आगामी सरकारका लागि नोटका रूपमा राखिने स्पष्ट पारेको कावराले बताए । संगठनले सुख्खा मौसममा विद्युत् आपूर्तिको सुनिश्चितता गर्नुपर्ने, विराटनगर आईसीपीसम्म रेल्वे कार्गो सेवा सञ्चालन गर्ने, मोरङको कटहरी क्षेत्रअन्तर्गतको हुलाकी सडक खण्डको निर्माण प्रक्रिया पुनः प्रारम्भ गर्नुपर्ने, सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्ने माग राखेको छ । यस्तै निर्यातमा नगद अनुदान दिनुपर्ने, पुँजीगत खर्चको वृद्धि गर्नुपर्ने, गत मंसिर २० गतेदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐन २०८२ मा समावेश भएका उद्योग–व्यवसाय क्षेत्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्ने प्रावधानहरू संशोधन गरी प्रक्रियागत जटिलतालाई सरलीकरण गर्नुपर्ने लगायतका माग राखिएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए ।