काठमाडौं । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा काठमाडौंमा तालिम आयोजना गरिएको हो ।
दिगो पर्यटन विकासका लागि खाद्य सुरक्षा र स्वच्छता अत्यन्तै आधारभूत र संवेदनशील पक्ष हो । एसटीपीले पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएका होटल, रेस्टुरेन्टहरूलाई खानपान सेवाको गुणस्तर वृद्धि गर्न पर्यटकको स्वास्थ्य, सन्तुष्टि र गन्तव्यप्रतिको विश्वास बढाउन तालिम सुरु गरिएको परियोजना प्रबन्धक धर्मराज दवाडीले बताए । उनका अनुसार सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्न सकिएन भने त्यसले पर्यटकको स्वास्थ्यमा जोखिम मात्रै होइन, देशको पर्यटन छवि र विश्वसनीयतामाथि पनि गम्भीर असर पार्न सक्छ । ‘खाद्यजन्य रोग, अस्वच्छ भान्सा, गलत भण्डारण तथा तयारी प्रक्रियाले हुने समस्या पर्यटन क्षेत्रमा दीर्घकालीन नोक्सानीका कारण बन्न सक्छन् । त्यसैले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र उनीहरूको बसाइ अवधि लम्ब्याउन खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नु अपरिहार्य छ’, उनले भने, ‘स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्ने गन्तव्यलाई पर्यटकहरूले सुरक्षित, जिम्मेवार र गुणस्तरीय गन्तव्यका रूपमा लिन्छन्, जसले पुनः भ्रमण र सकारात्मक प्रचारमा समेत योगदान पुर्याउँछ ।’
यसैले, खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम र सचेतना कार्यक्रमहरू केवल प्राविधिक अभ्यास मात्र नभई नेपालको पर्यटनलाई दीर्घकालीन, विश्वासिलो र प्रतिस्पर्धी बनाउने रणनीतिक लगानीका रूपमा लिनुपर्ने परियोजना प्रबन्धक दवाडीले उल्लेख गरेका छन् । यस्ता पहलले नेपाललाई सुरक्षित, जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तालिममा रेस्टुरेन्ट सञ्चालक, व्यवस्थापन टोलीका सदस्य तथा सेफहरूको सहभागिता रहेको छ । दुईदिने तालिममा खाद्य सुरक्षा मापदण्ड, स्वच्छता अभ्यास, सुरक्षित खाना तयारी तथा पर्यटकमैत्री सेवा गुणस्तरका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिनेछ ।