राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका छन्। शनिबार काठमाडौं आइपुगेलगत्तै लामिछानेले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारसँग छलफल गरेका हुन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूलाई छानिछानी हत्या गरिएको आरोप लगाउँदै शहीद परिवारले न्याय नपाएसम्म रास्वपा लडिरहने बताए। उनले शहीद परिवारको मागप्रति पार्टी र व्यक्तिगत रूपमा पूर्ण ऐक्यबद्धता रहेको स्पष्ट पारे।
सुशासन कायम गर्ने सवालमा सरकारलाई रास्वपाको पूर्ण साथ रहने पनि लामिछानेको भनाइ छ। उनले जेनजी आन्दोलन र त्यसमा ज्यान गुमाएका शहीद परिवारको न्याय सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
शहीद परिवारसँगको छलफलका क्रममा आन्दोलनका बेला छानिछानी हत्या भए पनि दोषीमाथि कारबाही गर्न सरकारले आवश्यक अग्रसरता नदेखाएको गुनासो आएको लामिछानेले जानकारी दिए। उनले राज्यको उदासीनताले पीडित परिवार थप पीडामा परेको भन्दै न्यायका लागि आवाज उठाउने प्रतिबद्धता जनाए।