काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन गरिएको चिनियाँ भाषा तालिम संचालन गरिएको छ ।
नेपाल पर्यटन बोर्डद्वारा काठमाडौं स्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद् (एनसीसीईसी)सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायीहरूका लागि सञ्चालन गरिएको सातौँ चिनियाँ भाषासम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको हो । हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस तालिमअन्तर्गत वार्षिक रूपमा ५० भन्दा बढी नेपाली पर्यटन व्यवसायी तथा विद्यार्थीहरूलाई चिनियाँ भाषा प्रशिक्षण प्रदान गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग भएको भेटपछि हस्ताक्षर गरिएको द्विपक्षीय सहायता सम्झौतापश्चात् यो कार्यक्रम सुरु गरिएको थियो । यसले नेपाल–चीन पर्यटन तथा जनस्तरीय सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ ।
चिनियाँ भाषा तालिम समापन समारोहमा चिनियाँ दूतावासका उपप्रमुख (डिसिएम) झोउ पान, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सो अवसरमा सातौँ ब्याचका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहका क्रममा तालिम पूरा गरेका सहभागीहरूले चिनियाँ भाषामा आफ्ना सीप प्रस्तुत गर्दै सांस्कृतिक कार्यक्रम तथा मार्सल आर्ट प्रदर्शनसमेत गरेका थिए । सहभागीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र भाषिक दक्षताले कार्यक्रमको प्रभावकारिता प्रष्ट पारेको कार्यक्रममा उपस्थिति वक्ताहरूले उल्लेख गरेका छन् ।
चिनियाँ दूतावासका उपप्रमुख झोउ पानले चिनियाँ भाषामा दक्षता हासिल गर्नु विश्वकै सबैभन्दा ठूलो पर्यटन बजारसम्म पहुँचको ढोका खोल्ने माध्यम हुने बताए । चिनियाँ भाषा प्रशिक्षणले नेपालको पर्यटन उद्योग र समग्र अर्थतन्त्रलाई फाइदा पु¥याउने उनको विश्वास छ । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश शाहले अन्तर्राष्ट्रिय व्यापार र पर्यटन क्षेत्रमा चिनियाँ भाषाको बढ्दो महत्वबारे प्रकाश पार्दै नेपाली पर्यटन क्षेत्रका लागि यसले दीर्घकालीन लाभ पु¥याउने बताए । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई प्रमुख गन्तव्यका रूपमा प्रवद्र्धन गर्न यस प्रकारको भाषा तालिम अत्यन्त उपयोगी रहेको बताए । चिनियाँ भाषामा दक्ष जनशक्ति तयार हुनु सरकारको चिनियाँ पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार हुने उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले चिनियाँ भाषामा दक्ष मानव संसाधन विकासले चिनियाँ पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न र नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस कार्यक्रमको उद्देश्य पर्यटन क्षेत्र मात्र नभई व्यापार, आर्थिक गतिविधि तथा अन्य क्षेत्रका लागि समेत उपयोगी हुने गुणस्तरीय चिनियाँ भाषा दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताए ।