काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फजुल खर्च नियन्त्रण तथा वित्तीय सुशासन कायम गर्न सरकारले ठोस कदम चालेको बताएकी छिन् ।
जेन–जी आन्दोलनपछि गत भदौ २७ गते गठन भएको सरकारको सय दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अनधिकृत तथा अवाञ्छित सुविधा कटौती गरी जनताको कर सुरक्षित गरिएको जानकारी दिइन् । उनकाअनुसार पदमा रहँदा वा अवकाशपछि लिइँदै आएका अनावश्यक सुविधा खारेज गरिएको छ । उनले मापदण्डविपरीत खटिएका पाँच सय सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको जानकारी दिइन् । यस्तै अनावश्यक ३८ वटा कार्यालय खारेज र तीन सय २३ दरबन्दी कटौती गरी राज्यको व्ययभार घटाइएको उनको भनाइ छ । साथै, एक खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेटलाई पुनः प्राथमिकता दिई ठूला विकास आयोजनामा स्थानान्तरण गरिएको र थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको पनि बताइन् । निर्वाचनको लागि सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने उनको दाबी छ । ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको भन्दै उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका एक हजार तीन सय ४२ थानमध्ये अधिकांश हतियार बरामद गरिएको बताइन् । साथै जलाइएको तथा तोडफोड गरिएका चार सय ६५ प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याइएको जानकारी दिइन् । निर्वाचनलाई लिएर फैलाइएका हल्ला निराधार भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताइन् ।
निर्वाचनको लागि खर्चको स्रोत सुनिश्चित गरेको समेत उनले बताइन् । निर्वाचनको लागि निर्वाचन आयोगलाई आवश्यक छ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको उनको भनाइ छ । आगामी निर्वाचनमा आठ लाख ३७ हजार नयाँ युवाले मताधिकार प्राप्त गरेको उनले बताइन् । हाल एक करोड ८१ लाखभन्दा बढी नेपाली मतदाताले मतदान गर्न पाउने उनको भनाइ छ । भदौ २३ र २४ का घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको उनले बताइन् । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मार्फत सुरु गरिएको पनि उनले जानकारी दिइन् । उनले आगामी निर्वाचनलाई परिवर्तनको ढोका खोल्ने राष्ट्रिय अवसरका रूपमा सम्पन्न गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरिन् । निर्वाचनले नेपालको राजनीतिमा नयाँ, स्वच्छ र स्थिर युगको सुरुवात गर्ने उनको विश्वास छ ।