ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलबीच राष्ट्रिय सहमति भएमा कम लागतमा विद्य्तीय मतदान (इभोटिङ)को व्यवस्था गर्न सकिने बताएका छन् ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आज ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट–२०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमा प्रभावकारी रूपमा मतदान गर्ने व्यवस्था मिलाउन सरकार तयार रहेकाले यसलाई पूर्णता दिन सबै सहमत हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिलेको सूचना प्रविधिको युगमा पनि अर्बौं रकम खर्च गरेर मतपत्र छाप्नुपर्ने, मतदानपूर्व हप्तौँ लगाएर मतदानस्थलसम्म पु¥याउनु, मतदानपछि दुई दिन लगाएर मतगणनास्थामा ल्याउनुपर्ने बाध्यता छ । सूचना प्रविधिको माध्यमबाट कम खर्चमा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाउन सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति भएमा सम्भव छ ।’ डिजिटल रुपान्तरणको युगमा सरकार प्रविधिमैत्री भएर अगाडि बढ्नुको विकल्प नरहेको उनले उल्लेख गरे ।