काठमाडौं । भुजुङ हाइड्रोपावरको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले बिहीबारदेखि वैदेशिक रोजगारमा रहेका र स्थानीय प्रभावितका लागि साधारण शेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र स्थानीय प्रभावितका लागि आईपीओ खुलेको हो । कम्पनीले जारी पुँजी एक अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको २० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । जसमा १० लाख कित्ता सेयर लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर ४ बढी प्रभावित र अन्य प्रभावितमा १, २, ३, ५, ६,७,८ र ९ का बासिन्दालाई छुट्याइएको छ । त्यस्तै एक लाख कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ । न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।
प्रभावितले छिटोमा पुस १७ गतेसम्म र ढिलोमा माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन एवं बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।