काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२५ को अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध व्यक्तित्वहरू र सर्वसाधारणहरूलाई लक्षित गरी सेजोङ कोरियन भाषा इन्स्टीच्युट सल्लेरी सोलुखुम्बु, सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी र सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा एकैसाथ लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्न सफल भएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा नेपालमा धितोपत्र बजारको विकास र विस्तार, डिम्याट खाता, ब्रोकर खाता तथा मेरो सेयर खोल्दा आवश्यक पर्ने कागजात र खाता खोल्ने प्रक्रियाका साथै प्राथमिक सेयर निष्कासनको समयमा सेयर खरिद आवेदन गर्दा ध्यान दिनुपर्ने कुराहरू र विधिको सम्बन्धमा विस्तृत रूपमा जानकारी गराइको थियो । त्यसैगरी धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, एसआईपी, दोश्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरू लगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रियासमेत गरिएको थियो । उक्त तीन वटा कार्यक्रम बाट प्रत्यक्ष रूपमा तीन सय ५० जना भन्दा बढी सहभागीहरूलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान प्रदान गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।