विराटनगर । कोशी प्रदेशकै पहिलो गोरखा डिपार्टमेन्ट स्टोर धराशायी बनेको छ । पुरानो बजार सुनसरीको इटहरीसहित पूर्वी नेपालका पाँच सहरमा सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरको चल–अचल सम्पत्ति लिलामी प्रक्रियामा जाने लागेको हो ।
बैकद्वारा साँवा, ब्याज तथा जरिवाना रकम भुक्तानीका लागि ३५ दिने अन्तिम सूचना जारी गर्दै पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि ऋणी पक्षले बेवास्ता गरेपछि लिलामी प्रक्रिया अघि बढाइएको जनाइएको छ । बैकको सूचनाअनुसार ३५ दिन अर्थात् आगामी २०८२ माघ ३ गते भित्रमा दायित्व भुक्तानी नभए ऋणीलाई कालो सूचीमा राखी ऋण असुली प्रक्रिया अघि बढाइने उल्लेख छ । बैंकले इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरीडाँडा, हाँसपोसा, एकम्बालगायत विभिन्न स्थानमा रहेका ४२ कित्ता जग्गा लिलामीमा राख्ने प्रक्रिया सुरु गरिसकेको बताइएको छ । साथै, गोरखा डिपार्टमेन्ट स्टोर्सका सञ्चालक बलराम आचार्यले प्रयोग गर्दै आएको टोयोटा ल्यान्डक्रुजर, टाटा इन्ट्रा र किया सेल्टोस गाडीहरू पनि लिलामी गर्ने प्रक्रियासमेत लिलामी सूचीमा समावेश गरिएको छ ।
सुनसरी स्थित इटहरी बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले दिएको जानकारीअनुसार लामो समयदेखि व्यापारिक रूपमा थलिएको गोरखा डिपार्टमेन्ट स्टोरले बैंकको ब्याजसमेत नियमित रूपमा तिर्न नसकेपछि लिलामी प्रक्रियामा पुगेको हो । जग्गा कारोबारमा आएको मन्दीका कारण व्यवसाय प्रभावित बनेपछि कम्पनी र सञ्चालकसमेत थप आर्थिक दबाबमा परेको स्थानीय व्यवसायीको भनाइ छ । पूर्वी नेपालमा नै डिपार्टमेन्ट स्टोरको अवधारणालाई स्थापित गर्दै सपिङ संस्कृतिको सुरुवात गरेका सञ्चालक बलराम आचार्य कुनै समय सुनसरी जिल्लाकै प्रख्यात व्यापारीमा कहलिएका थिए । तर पछिल्लो समय आर्थिक संकटका कारण आफ्नै सम्पत्ति जोगाउन समेत नसकेर उनी कठिन परिस्थितिमा पुगेको स्थानीयको भनाइ छ ।