काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ भनेका छन् । महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको उनको गुनासो छ ।
उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे । फागुन २१ मा निर्वाचन गराइ संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो र बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने थापाको भनाइ थियो ।
जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताउँदै महामन्त्री थापालले कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने बताए । थापाले नागरिकमा भएको असन्तुष्टि र रीसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राखे । फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उनको भनाई थियो ।