काठमाडौं । चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन सार्वजनिक निजी साझेदारीमार्फत हुने भएको छ । नेपाल उद्योग परिसंघ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा समझदारी भएको हो ।
सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा सञ्चालन गर्ने गरी दुई संस्थाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन पनि सार्वजनिक निजी साझेदारीमार्फत गरिनेछ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितीमा परिसंघका महानिर्देशक डा. घनश्याम ओझा र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले सम्झौतामा हस्ताक्षर गरेका थिए । सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिने घोषणा गरेअनुसार परिसंघले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो । यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिन सरकारलाई संयुक्त रूपमा प्रस्तावसँगै आग्रह गरिनेछ ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालनका लागि निफ्रासँग समझदारी गरी सुरुवातीको काम गर्न लागिएको बताए । यो समझदारी निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा परिसंघसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थान विन्दुको रूपमा लिएको बताए । उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक इ. पदम ओलीले सरकारले पीपीपी मोडलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा संचालन दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताए ।