काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औँ वर्ष पूरा गरेको छ । सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पूरा गरी ५३औँ वर्षमा प्रवेश गरेको हो ।
हाल यो समूह एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा विकसित भएको छ । यस ग्रुपले विभिन्न क्षेत्रहरूमा आफ्नो व्यवसाय फैलाएको छ । हाल यसको पोर्टफोलियोमा अटोमोबाइल (साना गाडी, ठूला गाडी र पार्टपुर्जाहरू), इलेक्ट्रोनिक्स, स्टिल, कागज, प्लास्टिक तथा मिठाई उत्पादन गर्ने उद्योगहरू रहेका छन् । पाँच दशकको अवधिमा देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै यस ग्रुपले हाल दुई हजारभन्दा बढी व्यक्तिहरूलाई रोजगारी प्रदान गरिरहेको छ । यस विशेष अवसरमा लक्ष्मी ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक कार्यक्रमहरू आयोजना गरेको छ । साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले धापाखेलस्थित ‘सेल्फ हेल्प ग्रुप फर सेरेब्रल पाल्सी’लाई शैक्षिक सामाग्री र अन्य आवश्यक सामानहरू सहयोग गरेको छ । त्यस्तै, लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाइ काठमाडौँले नक्सालस्थित ऐतिहासिक भाटभटेनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरी वातावरण संरक्षण र सम्पदा बचाउने कार्यमा आफ्नो ऐक्यबद्धता जनाएको छ ।
५२ वर्षको यो महत्वपूर्ण चरण पार गर्दा, लक्ष्मी ग्रुपले आफ्नो व्यावसायिक वृद्धिसँगै सामाजिक जिम्मेवारीलाई पनि उत्तिकै महत्व दिने कुरा दोहोर्याएको छ । लक्ष्मी ग्रुपले समुदायको हितमा काम गर्दा नै व्यवसाय दिगो र सफल हुने विश्वास राखेको छ ।