काठमाडौं । दशौँ संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाइ सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्रान्ड फिनाले सम्पन्न भएको छ ।
लिभिङ विथ आईसीटी र आईसीटी फाउन्डेसन नेपालले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो । सात सय ५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको अवार्डमा १८ जुरी सदस्य र १६ सल्लाहकार समितिले चार महिनाको समयमा छनौट प्रक्रिया सम्पन्न गरेका थिए । कार्यक्रममा नेपालसहित नेपालबाहिर विभिन्न देशका स्टार्टअपहरुको पनि सहभागिता रहेको थियो ।
यस वर्ष व्यक्तिगततर्फ नेपाली डायस्पोरा आईसीटी अवार्ड दिनेश सिलवालले प्राप्त गरे भने आन्टरप्रेनर आईसीटी अवार्ड विभुषण विष्टले जितेका छन् । पायोनियर आईसीटी अवार्ड डा. एलेन बैलोचन तुलाधर, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड रामकृष्ण परियार, वुमन आइकन आईसीटी अवार्ड मुन्नी राजभण्डारीले प्राप्त गरेकी छन् । यसैगरी संस्थागत अवार्डअन्तर्गत, डिजिटल गभर्नेन्स आईसीटी अवार्ड सामाजिक सुरक्षा कोष, डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) एनएमबी बैंक, डिजिटल सर्भिसेस (नियो सेक्टर) एम्बिसन गुरू, डिजिटल एजुकेसन (पब्लिक सेक्टर) नारायणी माध्यमिक विद्यालय, चितवन, डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) कोपिला भ्याली स्कुल, सुर्खेतले जितेका छन् ।
स्टार्टअप तथा इन्नोभेसन विधामा, इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड आर्कबो टेक्नोलोजीज, प्रडक्ट आईसीटीअवार्ड क्विकसीसीए, राइजिङ स्टार इन्नोभेसन आईसीटीअवार्ड माइन्डब्रिज, सोसल इन्नोभेसन आईसीटी अवार्ड कताहो, पब्लिक च्वाइस आईसीटी अवार्ड ट्रिप टर्बो प्रालिले प्राप्त गरेका छन्। जुरी मेन्सन आईसीटी अवार्ड वायुदृष्टी र साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड प्रियोसप, बंगलादेशले प्राप्त गरेको छ । साथै सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२५ अन्तर्गत सम्मान गरिएको छ । यसमा कोशी प्रदेशबाट मेडिक्याब टेक्नोलोजिज प्रालि, मधेश प्रदेशबाट जानकी सफ्ट इन्टरनेसनल प्रालि, बागमती प्रदेशबाट क्लाउड मन्डप प्रालि, गण्डकी प्रदेशबाट ब्रान्ड बिल्डर प्रालि, लुम्बिनी प्रदेशबाट गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन, कर्णाली प्रदेशबाट एभरेस्ट वायरलेस नेटवर्क प्रालि, सुदूरपश्चिम प्रदेशबाट बिजी इन्फोटेक्स प्रालि सम्मानित भएका छन् ।
कार्यक्रमको उद्द्धाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र समापन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री अनिल कुमार सिन्हाले गरेका थिए । कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायका उच्च अधिकारी, उद्यमी, सीईओ र स्वदेश तथा विदेशबाट आईसीटी क्षेत्रका १५ सय बढी विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । अवार्ड विजेताहरूलाई मन्त्री, सचिव लगायत सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए । यसैगरी कार्यक्रममा गायक हेमन्त शर्मा, रचना रिमाल, प्रभात लामा लगायतको सांगीतिक र कमेडी प्रस्तुति पनि रहेको थियो । विजेताहरूलाई टिगको तर्फ सफ्टवेयरको लाइसेन्स, आईटी ग्लोबलबाट पाँच हजार अमेरिकी डलर बराबरको एडब्लुएस क्रेडिट र स्टुडियो होमको तर्फबाट आकर्षक गिफ्ट प्रदान गरिएको थियो । राइजिङ स्टार इन्नोभेसन विधाका विजेतलाई सनवे कलेजले एआई छात्रवृत्तिसमेत प्रदान गरेको छ ।