काठमाडौं । सालपा विकास बैंकले साधारण सेयर बिक्रीको आह्वान गरेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रूपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार आठ सय ८० कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा एक लाख ७२ हजार तीन सय ८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यसबाहेक बैंकले ८६ लाख एक सय ९४ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ ।
बैंकले दोस्रो चरणमा भने २६ हजार एक सय १९ कित्ता सेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार नौ सय रूपैयाँ बराबरको प्रतिसेयर एक सय रूपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार एक सय ७९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्युनतम १० देखि अधिकतम २५ हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने छन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको यही पुस १६ गतेबाट खुल्ला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा यही पुस २० गते र ढिलोमा पुस ३० गते बन्द हुनेछ ।