काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका छन्। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगको बोलावटमा शाह सोमबार आयोग पुगेका हुन्।
आयोग स्रोतका अनुसार करिब दुई घन्टा लामो सोधपुछका क्रममा शाहसँग घटनाका दिन उनी कहाँ थिए, सामाजिक सञ्जालमा आएका उनका अभिव्यक्ति, सिंहदरबार जलाउने भनिएको प्रसंग, काठमाडौं महानगरको सुरक्षा व्यवस्थापन तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो।
तर शाहले दिएको जवाफ सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले बयानको विवरण खुलाएको छैन। राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सम्भावित मानव अधिकार हनन र दमनसम्बन्धी विषयमा आयोग सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिमार्फत छानबिन गरिरहेको छ। आयोगका अनुसार हालसम्म १४६ जनाको बयान लिइसकिएको छ।
आन्दोलनका क्रममा भएको मानव अधिकार हनन, प्रहरीद्वारा गरिएको बल प्रयोग, पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनताका विषयलाई आधार बनाएर छानबिन भइरहेको आयोगले जनाएको छ। आयोगका अनुसार छानबिन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।