काठमाडौं । सरकारले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा नयाँ ठेक्का आह्वान गर्ने तयारी अगाडि बढाएको छ । यसका लागि आयोजनाको बाँध (हेडवक्र्स), विद्युत्गृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उल्लेख गरेको छ ।
आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्थाबमोजिम गत ८ मंसिरबाट ठेक्का तोडिएको थियो ।
सम्झौताबमोजिम ठेक्का तोडेपछि निर्माण व्यावसायिका सम्पूर्ण उपकरण, साइट कार्यालय, निर्माणस्थल आयोजनाले आफ्नो नियन्त्रणमा लिएको छ । आयोजनाको अहिलेसम्म भएको काम, त्यहाँ रहेका उपकरण, बाँकी रहेका तथा थप गर्नुपर्ने कामलगायतको मूल्याङ्कन गरी लागत अनुमान तय गर्ने एवं टेन्डरका कागजात बनाउने काम भइरहेका छन् ।
रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटस्थित आयोजनाको हेडवक्र्स निर्माण क्षेत्र रहेको छ । पछिल्लो पटक टेन्डर रद्द गरिएपछिको साइटको अवस्था र नयाँ टेन्डर निकाल्नका लागि भइरहेको प्रगतिको अध्ययन भइरहेको मन्त्रालयको भनाइ छ ।
ऊर्जामन्त्री कुलमान घिसिङले आयोजनास्थलमै सोमबार आयोजना व्यवस्थापन र परामर्शदातासँग छलफल गरी हाल भइरहेको मूल्याङ्कनको काम दुई महिनाभित्र सम्पन्न गरी नयाँ टेण्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
ठेक्का सम्झौताको अवधि करिब ६१ प्रतिशत सकिँदा पनि भौतिक प्रगति एकदमै न्यून करिब १० प्रतिशत मात्र रहेको, प्रगति बढाउन कुनै तदारुकताका नदेखाएको,सम्झौताको प्रावधानअनुसार कामका सुधार गर्न सूचना जारी गर्दा समेत त्यसतर्फ कुनै चासो नदिएकाले पटेल—रमण जेभीसँगको ठेक्का टोडिएको थियो ।
आयोजनाले ठेक्का सम्झौता रद्दको प्रक्रियासँगै पटेल—रमण जेभीले कार्यसम्पादन जमानतबापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानीको एक अर्ब २० करोड गरी तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफतको प्रक्रिया अगाडि बढाएको थियो । आयोजना निर्माणका लागि पटेल—रमण जेभीसँग १४ अर्ब आठ करोड आठ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो । पटेल—रमण जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेको थियो । निर्माण व्यवसायीले माघ २०७९ बाट काम सुरु गरेको थियो ।
असार २०८४ भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर, हालसम्मको भौतिक प्रगति करिब १० प्रतिशत मात्र छ । हालसम्म दुई अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम भुक्तानी गरिएको छ । आयोजनाको १३.३ किलोमिटर टनेल बोरिङ मेसिनको प्रयोग गरी खनिएको थियो । सुरुङ २६ वैशाख २०८१मा छिचोलिएको थियो । सिन्धुली र रामेछापको सीमानामा रहेको सुनकोशी नदीको पानीलाई बाँध बनाएर सुरुङमार्फत मरिण नदीमा खसाली बागमती सिँचाइ आयोजनामा पुर्याइनेछ ।
हाल सिँचाइ भएको ४५ हजार छ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको कुल एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ ।
सुनकोशीको पानी मरिण नदीमा पथान्तरण गरी ३१ मेगावाटको जलविद्युत उत्पादन गरिनेछ । मधेश प्रदेशका उर्वर भूमि रहेका पाँचवटा जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पु¥याइ कृषि उत्पादकत्वको वृिद्ध किसानको जीविकोपार्जनमा उल्लेख्य सुधार, जलविद्युत्समेत उत्पादन गरी सिंगो देशको अर्थतन्त्रमा टेवा दिनुको साथै प्रादेशिक सुन्तुलनमा समेत योगदान दिने भएकाले सुनकोशी मरिणलाई राष्टिय गौरव तथा रुपान्तरणकारी आयोजनाका रुपमा कार्यान्वयनमा ल्याइएको हो । आयोजनाको अनुमानित लागत ४९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
आयोजना निर्माणका क्रममा खपत गरेको विद्युत्को महसुल नतिरेपछि पटेल—रमण जेभीको लाइन काटिएको छ । पटेल—रमण जेभीको नाममा एक करोड ११ लाख रुपैयाँ बक्यौता छ । वक्यौता रकम तिर्न पटक–पटक ताकेता गर्दा समेत नतिरेकाले लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ ।