काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कार्तिक र मंसिर महिनामा विभिन्न्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोहीअन्तर्गत बैंकले जेष्ठ नागारिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परिक्षणसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरूको रोकथाम सम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ । त्यसैगरी भाद्र महिनामा आन्दोलनको क्रममा क्षेतिग्रस्त भएको प्रहरी वृत सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्नको लागि पाँच थान कम्प्युटर सेट तथा पाँच थान टेबल बैंकले प्रदान गरेको छ । साथै हुम्ला जिल्लाको सदुरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा न. १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोकोरुपमा जीविकोपार्जन गरिरहेको विपन्न वर्गका मानिसहरू, अनाथ बालबालिका, एकल महिला, एकल पुरुषहरूलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र सिमकोट, हुम्लालाई आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालुङ जिल्लामा रहेका भृकुटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लामा रहेका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय, श्री गणेशसूर्य आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरूलाई सुरक्षित र सहज रूपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्नेगरी विभिन्न रोटरी क्लबहरूमार्फत बैंकले आर्थिक सहयोग गरेको छ ।
साथै, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययतरत एक सय ८० जना विद्यार्थीहरूलाई जाडोबाट बच्नको लागि एक सय ८० थान न्यानो कपडा वितरण गरेको छ । त्यसैगरी गोरखा जिल्लाको विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई मुनलाइट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा विभिन्न शैक्षिक सामाग्रीहरू वितरण गरिएको छ । बैंकले गर्दैआएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।