सिरहा । शीतलहरका कारण चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय शीतलहरबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
लहान नगरपालिकाले चिसोको प्रभाव बढ्दै गएपछि बुधबार बिहानैदेखि बजार क्षेत्रका विभिन्न चोकचोकमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ । स्थानीयवासी बिहानैदेखि घुर तापेर बस्न थालेका छन भने विद्यालयमा विद्यार्थीको उपस्थिति पनि घट्दै गएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले ग्रामीण चोक, राधाकृष्ण चोक, गणेशचोक, हनुमानस्थान, हुलाक चोकलगायत स्थानमा दाउरा बाल्ने काम थालिएको जानकारी दिए ।
उनले भने, “बढ्दो चिसोबाट नगरवासीलाई जोगाउन तत्काल राहतका कार्यक्रम सुरु गरेका छौँ । बजार क्षेत्रका प्रमुख चोकमा दाउरा बालिएको छ र वडासँग समन्वय गरेर २४ वटै वडाका आवश्यक स्थानमा दाउरा वितरण गर्ने तयारी भइरहेको छ ।” उनका अनुसार गरिब तथा विपन्न समुदायलाई लक्षित गरी ५०० परिवारलाई फाइबरका सिरक वितरण गर्ने तयारीसमेत गरिएको छ ।
माध्यमिक विद्यालय पडरिया थारू टोलका प्रधानाध्यापक मनोज यादवले मौसममा आएको अचानक परिवर्तन र निरन्तर चिसो हावाका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण विशेषगरी विपन्न परिवारका बालबालिकासँग न्यानो लुगाको अभाव हुँदा विद्यालयमा नियमित उपस्थिति हुन नसकेको हो ।
त्यसैगरी, जाडो छल्न दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको डिभिजन वन कार्यालय लहानले जनाएको छ । कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार जिल्लाका मुख्य बजार क्षेत्रमा दाउरा उपलब्ध गराउन कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले चिसोको प्रभाव बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लाका १७ वटै स्थानीय तहका प्रमुखसँग छलफल भइरहेको र छिट्टै बैठक बसेर दाउरा उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्नेलगायत आवश्यक निर्णय गरी कार्यान्वयन गरिनेछ । लगातारको शीतलहरले जनजीवन प्रभावित भइरहेकाले सरकारी निकाय तथा स्थानीय तहले सक्रियता बढाएका छन् ।