मुस्ताङ । निजी वायुसेवा कम्पनीले हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेको छ ।
प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।
नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने प्रमुख पोखरेलले बताए । कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा-जोमसोम उडान स्थगित गरेको तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले बताए । त्यसैगरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।
पोखरा-जोमसोम उडान हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।