काठमाडौं । सारथी केवल इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत मंसिर ५ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ११ करोड ४५ लाख रुपैयाँ बराबरको ११ लाख ४५ हजार कित्ता सेयर निष्काशनको लागि अनुमति मागेको जनाएको छ ।
शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यो कम्पनी भुषाल ग्रुपअन्तर्गतको हो । यो कम्पनी पहिले भुषाल केवल एन्ड वायर इन्डस्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाइमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको हो । भैरहवामा फ्याक्ट्री रहेको सारथी केवलले विगत १८ वर्षदेखि नेपालमै केवल तथा तार उत्पादन गर्दै आएको छ । कम्पनीले मल्टी स्ट्रार्ड केवल, पावर केवल, कन्सेन्ट्रिक केवल लगायत उत्पादन गर्दै आएको छ । कम्पनीका अध्यक्ष अंकित भुसालका अनुसार आईपीओबाट संकलित रकम कम्पनीले नेपालमै पहिलो पटक ‘अण्डरग्राउन्ड केवल’ उत्पादन सुरु गर्नमा लगानी गर्नेछ । यसबाट नेपाललाई विद्युत् सामग्रीको उत्पादनमा आत्मनिर्भर बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ ।
साथै, अत्याधुनिक प्रविधि प्रयोग गरेर आल्मुनियम फर्नेन्स प्लान्टसमेत जडान गर्ने कम्पनीको लक्ष्य रहेको उनले बताए । कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ । कम्पनीको पाँचवटा प्रदेशमा गरी दुई सय १५ वटा डिलर रहेका छन् । आईपीओ निष्काशनपछि केवल उत्पादन गर्ने पहिलो सूचीकृत कम्पनी नै सारथी केवल हुने जनाइएको छ ।