काठमाडौं । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाइ ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ ।
यसअनुसार अब वाइफाइ ६ प्याकेजअन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुनेछ । नेपाल टेलिकमले पहिले वाइफाइ ५ प्रविधिको सीपीई (कस्टोमर प्रमिक इक्वीप्मेन्ट) उपलब्ध गराइरहेकोमा अब वाइफाइ ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने भएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाइ सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ । धेरै डिभाइसहरू कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।
ग्राहकहरूका लागि वाइफाइ ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेजअन्तर्गत इन्टरनेट र टेलिफोन प्याकेज, इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेजमध्ये कुनै एक प्याकेज रोज्न सकिनेछ । त्यसैगरी प्रिमियम प्याकेजअन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज वान्ली, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभीमध्ये कुनै एक प्याकेज रोज्न सकिनेछ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ । टेलिकमले उपलब्ध गराउने वाइफाइ ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइट हेर्न सकिन्छ । त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरूसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । १९८ मा कल गरेर वा नजिकको नेपाल टेलिकमको कार्यालयबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने जनाइएको छ ।