काठमाडौं । होटल सब्रिनाले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । वरिष्ठ कलाकार निर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको होटलको सातौँ साधारणसभामा आईपीओ निष्काशन गर्ने जानकारी दिइएको हो ।
९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । होटलले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि गत असार अन्तिममा होटलले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको जनाएको छ । अपार्टमेन्टसहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्ने प्रक्रियामा रहेको समेत अध्यक्ष निराजन थापाले बताए । ‘१०४ वटा रूम र क्यासिनो बनाएर ५ तारे स्ट्यान्डर्डको प्रक्रियामा जाने तयारीमा छौँ,’ थापाले भने । साधारणसभाले पेस गरिएका सबै निर्णयहरू सर्वसम्मत पारित गरेको छ ।