ब्रसेल्स । युरोपेली संघले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि कम्पनीहरूलाई नियमन गर्ने पाँच युरोपेली व्यक्तित्वमाथि लगाइएको अमेरिकी प्रतिबन्धको ‘कडा निन्दा’ गरेको युरोपेली आयोगले बुधबार जानकारी गराएको छ ।
अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार प्रविधि क्षेत्रमा काम गर्ने ब्रेटन र अन्य चार व्यक्तिलाई भिसा अस्वीकार गर्ने घोषणा गरेको छ । उनीहरूले अमेरिकी सामाजिक मिडिया प्लेटफर्महरूको विरोध गर्ने दृष्टिकोणलाई नियन्त्रण गर्न ‘जबरजस्ती’ गर्न खोजेको आरोप लगाए ।
‘हामीले अमेरिकी अधिकारीहरूसँग स्पष्टीकरण मागेका छौँ र यस मुद्दामा नियमित लागिपरेका छौँ । आवश्यक भएमा हामी अनुचित उपायबिरूद्ध हाम्रो नियामक स्वायत्तताको रक्षा गर्न द्रूत र निर्णायक रूपमा प्रतिक्रिया दिनेछौँ’, आयोगको एक विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो डिजिटल नियमहरूले सबै कम्पनीहरूको लागि सुरक्षित, निष्पक्ष र समान स्थान सुनिश्चित गर्छ, साथै, यो निष्पक्ष र भेदभावबिना लागू हुन्छ ।’ रासस/एएफपी