काठमाडौ । निवर्तमान सरकारका गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा भएको धनजनको नोक्सानी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । यसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नैतिक दबाब बढेको छ ।
तारन्तार आयोगलाई अवमूल्यन गर्दै आएका ओलीलाई आफ्नै सरकारका गृहमन्त्री लेखकले बयान दिन जाने बताएसँगै दबाब बढेको हो । तत्कालीन समयमा नेपाली सेनाको सुरक्षा घेरामा रहेका ओली विस्तारै सार्वजनिक भएका थिए । हाल परिस्थिति साम्य भएसँगै उनी भक्तपुरको गुण्डुमा बस्दै आएका छन् भने आयोगमाथि प्रश्न उठाउँदै आएका छन् ।
यस्तोमा नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकले बिहीबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारलाई आफू बयान दिन जाने बताएका थिए । आयोगले लेखकलाई शुक्रबार बयान दिन आउन भन्दै मंगलबार पत्र पठाइसकेको छ । पत्र पाएसँगै उनले सोमबार बयान दिन जाने बताएका छन् ।
‘आयोगले भदौ २३ र २४ गतेका घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु । उहाँहरूले शुक्रबारलाई बोलाउनु भएको रहेछ। म सोमबार बयान दिन आउँछु भनेको छु’, लेखकले भने । बयान दिन जाने विषयमा तत्कालीन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग के सल्लाह भएको छ? भन्ने प्रश्नको भने उनले जवाफ दिएनन् ।
जेनजी आन्दोलन भएकै दिन भदौ २३ मा १९ जनाको प्रहरीको गोलीबाट हत्या भएको थियो । त्यसको भोलिपल्ट भएको विध्वंसक प्रदर्शनमा ७० भन्दा बढी मारिएका थिए । सोसँगै नेपाली सेनाले तत्कालीन सरकारका प्रधानमन्त्री रहेका केपी शर्मा ओलीसहित मन्त्रीहरुलाई आफ्नो ब्यारेकमा राखेर सुरक्षा दिएको थियो । त्यसपछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यसअघि नै तत्कालीन सरकार भएका बेला जिम्मेवारीमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको नेतृत्वसँग बयान लिइसकेको छ । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भने आयोगमा कुनै हालतमा बयान नदिने बताउँदै आयोगकै वैधानिकतामा प्रश्न उठाउँदै आएका छन् ।