काठमाडौ । विदेशमा काम गर्न जाने नेपालीको संख्या निरन्तर घटेको देखिएको छ । पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली असोज, कात्तिक र मंसिरमा घटेका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार मंसिरमा ६५ हजार ७ सय ५ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जुन कात्तिकको तुलनामा सात हजार तीन सयले कम हो ।
कात्तिकमा ७३ हजार ९४ नेपालीले श्रम स्वीकृति लिएका थिए । मंसिरमा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या भने बढेको छ । मंसिरमा २९ हजार छ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएको देखिएको छ । कात्तिकमा २२ हजार पाँच सय १५ जनाले नयाँ श्रम स्वीकृति लिएर विदेश गएका थिए । त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या कात्तिकको तुलनामा मंसिरमा घटेको छ । कात्तिकमा ५० हजार पाँच सय ८० जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने मंसिरमा ३६ हजार ८७ जनाले स्वीकृति लिएका थिए । मंसिरमा सबैभन्दा बढी साउदी अरब पुगेका छन् । साउदीमा छ हजार चार सय ४२ जना पुगेका छन् । त्यसपछि कतारमा तीन हजार आठ सय ६१, यूएई दुई हजार तीन सय ४२ र मलेसियामा तीन हजार चार सय ४० जना गएका छन् ।
जेन–जी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) जानेको चाप बढे पनि प्रहरी प्रतिवेदन प्रमाणीकरणमा झन्झटिलो प्रक्रिया र लागत बढेका कारण कामदार प्रभावित भएको देखिएको छ । पहिले कन्सुलर विभागमार्फत प्रहरी प्रतिवेदनका लागि पाँच सय रुपैयाँ लिने गरिएको थियो । तर, अहिले प्रमाणीकरण शुल्क यूएई दूतावासमार्फत गर्नुपर्ने व्यवस्था आएपछि करिब १४ हजार रुपैयाँसम्म पुगेको विभागको भनाइ छ ।