काठमाडौ । विपन्न वर्ग कर्जामा बैंकहरूको अरुचि देखिन थालेको छ । पछिल्लो वर्षमा बैंकिङ क्षेत्रको विपन्न वर्गमा प्रवाह हुने कर्जा लगातार घट्दै जानुले पनि यो क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरू कर्जा प्रवाह गर्न अनिच्छुक देखिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । जसमध्ये औसतमा पाँच दशमलव ३६ प्रतिशतले हुन आउने दुई खर्ब ७४ अर्ब ६४ करोड ३० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह भएको देखिएको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ८१ प्रतिशत अर्थात् २३ अर्ब ३५ करोड ६० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा बिपन्न वर्गमा मात्र कुल छ दशमलव १७ प्रतिशतका दरले हुन आउने दुई खर्ब ९७ अर्ब ९९ करोड ९० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र चालू आवको पछिल्लो चार महिनाको अवधिसम्ममा कुल ५० खर्ब नौ अर्ब चार करोड रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल पाँच दशमलव २८ प्रतिशतका दरले हुन आउने दुई खर्ब ३९ अर्ब २३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव सात प्रतिशत अर्थात् १५ अर्ब ९४ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल पाँच दशमलव ९८ प्रतिशतका दरले हुन आउने दुई खर्ब ५५ अर्ब १७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पनि चालू आवको पछिल्लो चार महिनाको अवधिमा पाँच खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये छ दशमलव ११ प्रतिशतका दरले हुुन आउने ३१ अर्ब १७ करोड ८० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । विकास बैंकहरूले विपन्न वर्गमा प्रवाह गरेको कुल कर्जा रकम गत आवको सोही अवधिको तुलनामा एक दशमलव ६५ प्रतिशत अर्थात् छ अर्ब छ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ७६ प्रतिशतका दरले हुन आउने ३७ अर्ब २३ करोड ८० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो चार महिनाको अवधिमा कुल एक खर्ब तीन अर्ब २५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ३८ प्रतिशतका दरले हुन आउने चार अर्ब २२ करोड ८० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक दशमल ८१ प्रतिशत अर्थात् एक अर्ब ३५ करोड ६० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल सात दशमलव १९ प्रतिशत अर्थात् पाँच अर्ब ५८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।