काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा– ग्वाङ खोला, पश्चिममा– मदन भण्डारी राजमार्ग, उत्तरमा–कुमल फाँट र दक्षिणमा– धुराबजार चोकभित्र अहिले साँझ ८ः३० देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो ।
पुस ६ गते कमलामाई नगरपालिका–४ धुरा बजारमा भएको घटनालाई लिएर स्थानियबासीबाट ढुङ्गा मुढा प्रहार तथा हुलदङ्गालगायतका अवाञ्छित गतिविधिका कारण जिल्लाको शान्ति भङ्ग भई सुरक्षा व्यवस्थामा खलल पुग्ने अवस्था देखिएकोले कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ । कर्फ्युको अवधिमा सर्वसाधारण तथा अत्यावश्यक बाहेकको सवारीसाधनको आवाजावत गर्न, कुनै पनि किसिमको भेला जुलुस र भेलाजन्य कार्यहरू गर्न तथा पाँच जनाभन्दा बढी मानिस भेला हुन निषेध गरिएको छ ।
यही पुस ६ गते सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भएको थियो । उनको परिवारकै सदस्य मिलेर हत्या गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । घरभित्रै शरीरमा आगो लागेर सुशीलाको मृत्यु भएको घटना शंकास्पद देखिएपछि प्रहरीले उनकी सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनलाई नियन्त्रणमा लिएको छ भने घटना हुँदा विदेशमा रहेका सुशीलाका श्रीमान् अहिले घर आएका छन् ।
उनी घरभित्र पसेपछि स्थानीय आक्रोशित भएर ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक सुशीलाका तीन जना तिम्ल्याहा बच्चा छन् । कार्यालयका अनुसार घटनामा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।