काठमाडौं । एनआईसी एसिया बैंकले सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाललाई नियुक्त गरेको छ । उनलाई ९ गते बसेको बैंक सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका उनले चयन भएकै मितिदेखि कार्यकाल सुरु गरेका हुन् ।
नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएको बैंकले जनाएको छ । बैंकको अध्यक्षजस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएको बैंकले जनाएको छ ।
‘उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने वहाँको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने दृढ विश्वास लिएको छ’, बैंकले भनेको छ । यसअघि बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल थिए । उनले व्यक्तिगत कारण खुलाउँदै पुस ६ गते राजीनामा बुझाएका थिए । सोही दिन बसेको सञ्चालक समितिको ७४२औँ बैठकले उनको राजीनामा स्वीकृत भएको थियो ।