रोजगारीका लागि छिमेकी देश भारतदेखि लिएर खाडी मुलुक, दक्षिण–पूर्व एसिया, युरोप, अमेरिका र अस्ट्रेलियासम्म नेपाली युवाहरू फैलिएका छन् । कामदार भिसामा जाने, विद्यार्थी भिसामा गएर पढाइसँगै काम गर्ने, दक्ष जनशक्तिका रूपमा विदेश बस्ने—सबैको एउटै उद्देश्य देखिन्छ, आर्थिक आम्दानी । जसरी बसे पनि, जुनसुकै देशमा बसे पनि, काम गरेपछि कमाइ हुन्छ र त्यो कमाइ नेपालमा रहेका परिवार तथा आफन्तलाई पठाइन्छ । यही पठाइएको पैसा नै आज ‘रेमिट्यान्स’ को रूपमा नेपालको अर्थतन्त्रको मुख्य आधार बनेको छ ।
आजको नेपालमा ‘रेमिट्यान्स’ भन्ने शब्द केवल आर्थिक तथ्याङ्कमा सीमित रहेन । यो शब्द सामाजिक यथार्थ, पारिवारिक बाध्यता, राज्यको असफलता र युवाको विवशताको प्रतिविम्ब बनेको छ । नेपालमा रोजगारीका अवसर न्यून हुनु, उद्योग–धन्दा कमजोर हुनु, कृषि क्षेत्र उपेक्षित हुनु तथा युवालक्षित दीर्घकालीन नीति नहुनुले गर्दा आज देशका लाखौँ युवा रोजगारीको नाममा विदेशिन बाध्य भएका छन् । अहिले त अवस्था यस्तो भइसकेको छ कि नेपालमा प्रायः हरेक घरबाट कम्तीमा एक जना विदेश गएको देखिन्छ । विदेश नपुगेको घर नै दुर्लभजस्तै भइसकेको छ ।
सानो कमाइ होस् वा ठूलो, नेपालमा आएको रेमिट्यान्सको हिस्सा अत्यन्त ठूलो छ । आर्थिक वर्ष २०८१/८२ मा मात्र नेपालमा करिब १.७२ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको तथ्यांकले देखाउँछ । यसमा २५ देखि ३० प्रतिशत नेपालको कुल न्म्ए मा योगदान छ । यो रकम सुन्दा गर्व गर्नुपर्ने जस्तो लागे पनि यसले गम्भीर प्रश्न उठाउँछ । यत्रो पैसा आए पनि के नेपाल साँच्चिकै विकासको बाटोमा अघि बढिरहेको छ ? के यो रेमिट्यान्सले देशलाई आत्मनिर्भर बनाइरहेको छ ? छैन । यो दीर्घकालीन विकासको आधार होइन ।
आज नेपालमा आउने रेमिट्यान्सको ठूलो हिस्सा मध्यपूर्वी तथा खाडी देशहरूबाट आउने गरेको देखिन्छ । कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (दुबइ), कुवेत, ओमान र बहराइनजस्ता देशहरू नेपालका प्रमुख रेमिट्यान्स स्रोत बनेका छन् ।
युरोपबाट चझष्ततबलअभ बेलायत, जर्मनी, इटाली, पोर्चुगल, फ्रान्स र स्पेनमा स्थायी बसोबास र उच्च आम्दानी भएका नेपालीहरू छन् । अमेरिका र ओसिनियाबाट संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्यान्ड पनि प्रमुख स्रोतमा पर्दछन् । यी देशहरूमा नेपाली युवाहरू अत्यन्त कठिन परिस्थितिमा काम गरिरहेका छन् । अत्यधिक गर्मी, जोखिमपूर्ण काम, न्यून तलब, लामो काम र पारिवारिक विछोड—यी सबै सहँदै उनीहरू श्रम बेचिरहेका छन् ।
त्यसपछि दक्षिण–पूर्व एसियाबाट विशेष गरी मलेसिया नेपालका लागि सबैभन्दा ठूलो एकल रेमिट्यान्स स्रोतका रूपमा रहेको छ । त्यस्तै भारतबाट पनि औपचारिक र अनौपचारिक माध्यमबाट ठूलो मात्रामा पैसा भित्रिने गरेको अनुमान छ । यी सबैमध्ये हाल कतार सबैभन्दा बढी रेमिट्यान्स पठाउने देशका रूपमा चिनिएको छ ।
तर यति ठूलो मात्रामा पैसा नेपाल भित्रिए पनि यसको प्रयोग कसरी भइरहेको छ ? भन्ने पक्ष अत्यन्त कमजोर छ । वास्तवमा नेपालमा आएको रेमिट्यान्सको अधिकांश हिस्सा उत्पादनमूलक क्षेत्रमा प्रयोग भएको देखिँदैन । घरजग्गा खरिद, महँगा उपभोग्य वस्तु, आयातित सामान, विलासिताका साधन, देखावटी जीवनशैली, चाडपर्व र दैनिक खर्चमै ठूलो रकम सकिएको छ । रेमिट्यान्सले तत्कालीन उपभोग त धानेको छ, तर उद्योग, कृषि, उत्पादन र रोजगारी सिर्जनामा अपेक्षित योगदान दिन सकेको छैन ।
यदि देशमा आएको पैसा देशमै टिकेन भने, त्यो रकम जति ठूलो भए पनि अन्ततः देशका लागि घाटा नै हुन्छ । आज नेपालमा रेमिट्यान्सकै कारण आयात बढेको छ । विदेशबाट पैसा आउँछ, तर त्यो पैसा फेरि विदेशकै सामान किन्न बाहिरिन्छ । यसले गर्दा देशको व्यापार घाटा बढ्दो छ र अर्थतन्त्र अझै बाह्य निर्भर बन्दै गएको छ । यस्तो चक्रले देशलाई कहिल्यै समृद्ध बनाउँदैन ।
यस सन्दर्भमा सबैभन्दा चिन्ताजनक पक्ष भनेको युवाको विदेश पलायन हो । युवा कुनै पनि देशको शक्ति, ऊर्जा र भविष्य हुन् । तर आज नेपालमा त्यो युवा शक्ति देशभित्र छैन । गाउँ–गाउँ युवाविहीन बन्दै गएका छन् । खेतबारी बाँझिएका छन्, उद्योगहरू बन्द छन्, काम गर्ने मान्छे छैनन् । गाउँमा वृद्ध र बालबालिका मात्र बाँकी छन् । सुत्केरी, वृद्ध र अशक्तको अवस्था गाउँ–गाउँमा दयनीय बनेको छ । यस्तो अवस्थामा देशभित्र विकास कसरी सम्भव हुन्छ ?
युवाहरू विदेश गएर कडा श्रम गरिरहेका छन्, तर त्यो श्रमको प्रत्यक्ष लाभ उनीहरूले काम गरिरहेको देशले लिइरहेको छ । नेपालले भने केवल उनीहरूले पठाएको पैसा मात्र पाएको छ, त्यो पनि अस्थायी रूपमा। यसरी हेर्दा युवाहरू विदेश जानु अल्पकालीन रूपमा व्यक्तिगत र पारिवारिक हिसाबले लाभदायक देखिए पनि दीर्घकालीन रूपमा देशका लागि ठूलो घाटा हो । किनभने विकास केवल पैसाले मात्र हुँदैन । विकासका लागि युवा शक्ति, सोच, सीप, श्रम र नेतृत्व आवश्यक पर्छ ।
अझ चिन्ताको विषय के छ भने विदेशमा गएर युवाहरूले कमाएको पैसा पनि धेरैजसो अनावश्यक र अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विलासिताका वस्तु, देखावटी जीवनशैली र आयातित सामानमा गरिएको खर्चले देशको अर्थतन्त्रमा गम्भीर असर पारिरहेको छ । यदि यही पैसा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य वा स्वरोजगारमा लगानी भएको भए आज नेपालको स्वरूप नै फरक हुने थियो ।
यसैले अब प्रश्न ‘रेमिट्यान्स कति आयो’ भन्ने मात्र होइन, ‘रेमिट्यान्स कसरी प्रयोग भयो’ भन्ने हुनुपर्छ । राज्यले युवालाई विदेश पठाउने नीतिमा मात्र सीमित नरही उनीहरूलाई देशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने समय आएको छ । साथै विदेशबाट आएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने स्पष्ट नीति आवश्यक छ ।
निष्कर्षमा भन्नुपर्दा, नेपालमा आएको रेमिट्यान्सले देशलाई अहिले चलायमान त बनाएको छ, तर यसले दीर्घकालीन विकास सुनिश्चित गर्न सकेको छैन । युवाको ठूलो संख्यामा विदेश पलायन हुनु देशका लागि लाभ होइन, यो गम्भीर चेतावनी हो । रेमिट्यान्स सहारा हुन सक्छ, तर विकासको स्थायी आधार कहिल्यै बन्न सक्दैन । देश विकास गर्न युवालाई विदेश होइन, देशभित्रै सम्भावना देखिनु आवश्यक छ । युवालाई देशमै टिकाउने नीति र वातावरण नबनाएसम्म नेपाल साँचो अर्थमा विकासको बाटोमा अघि बढ्न सक्दैन ।
आज नेपालले भोगिरहेको सबैभन्दा ठूलो समस्या युवाको निराशा र देशप्रति घट्दो विश्वास हो । यही निराशाका कारण युवाहरू देशमै भविष्य देख्न सकिरहेका छैनन् र बाध्य भएर विदेश पलायन भइरहेका छन् । यदि नेपाललाई साँच्चिकै आत्मनिर्भर, समृद्ध र स्थायी विकासको बाटोमा अघि बढाउन चाहिन्छ भने अब राज्यले स्पष्ट रूपमा केही आधारभूत कामहरू गर्नैपर्छ ।
सबैभन्दा पहिले, देशमा बन्द अवस्थामा रहेका उद्योग–धन्दालाई पुनः सञ्चालनमा ल्याउनुपर्छ । नेपालमा कुनै समय सञ्चालनमा रहेका धेरै उद्योग आज बन्द छन् । जसले हजारौँ युवालाई बेरोजगार बनाएको छ । उद्योग बन्द हुनुको कारण ऊर्जा, नीति, राजनीतिक अस्थिरता र लगानीमैत्री वातावरणको अभाव हो । यदि सरकारले दीर्घकालीन औद्योगिक नीति बनाएर निजी क्षेत्रलाई विश्वास दिलाउन सक्यो भने बन्द उद्योग पुनः चल्न सक्छन् र नयाँ उद्योग पनि स्थापना हुन सक्छ । यसले रोजगारी सिर्जना मात्र होइन, उत्पादन बढाएर आयातमा निर्भरता घटाउन पनि मद्दत गर्छ ।
दोस्रो, युवालाई देशमै रोजगारी प्रदान गर्ने वातावरण निर्माण गर्न अत्यन्त जरुरी छ । केवल सरकारी जागिरमा सीमित सोच राखेर होइन, निजी क्षेत्र, स्वरोजगार, उद्यमशीलता र सीपमूलक तालिमलाई प्राथमिकता दिएर युवालाई काम गर्ने अवसर दिनुपर्छ । युवासँग ऊर्जा, क्षमता र नयाँ सोच हुन्छ, तर अवसर नपाउँदा त्यो शक्ति खेर गइरहेको छ । यदि राज्यले सहुलियत ऋण, तालिम र बजारको सुनिश्चितता गरिदियो भने युवाहरू आफैँ रोजगारी सिर्जना गर्ने अवस्थामा पुग्न सक्छन् ।
तेस्रो, गाउँ फर्कने वातावरण बनाउनु आजको आवश्यकता हो । आज नेपालका धेरै गाउँ युवाविहीन बनेका छन् । खेतीयोग्य जमिन बाँझिएका छन्, परम्परागत सीप लोप हुँदै गएका छन् । गाउँमा कृषि, पशुपालन, पर्यटन र साना उद्योगलाई प्रवर्द्धन गरियो भने युवाहरू गाउँ फर्कन सक्छन् । गाउँमा सम्मानजनक जीवन सम्भव भयो भने सहर र विदेशतर्फको अनावश्यक भीड स्वतः घट्छ ।
चौथो, नेपालमा भएका विश्वविद्यालय र शैक्षिक संस्थालाई अध्ययनमैत्री बनाउनुपर्छ । आज विद्यार्थीहरू देशभित्रको शिक्षाप्रति विश्वास गुमाउँदै विदेश जान बाध्य छन् । गुणस्तरीय शिक्षा, समयमै परीक्षा, व्यावहारिक पाठ्यक्रम र अनुसन्धानमुखी वातावरण बिना विश्वविद्यालय अर्थहीन हुन्छ । शिक्षा सुधार बिना दीर्घकालीन विकास सम्भव छैन ।
अन्ततः, देशमा जति सक्दो चाँडो राजनीतिक समस्याको समाधान गर्नुपर्छ । बारम्बार सरकार परिवर्तन, अस्थिर नीति र स्वार्थ केन्द्रित राजनीति विकासको सबैभन्दा ठूलो बाधा बनेको छ । स्थिर, जिम्मेवार र जनमुखी राजनीति विना न उद्योग चल्छ, न रोजगारी बढ्छ, न युवामा आशा जाग्छ ।
देशलाई पर्यटनमैत्री बनाउनुपर्छ । सहरलाई व्यवस्थित र व्यस्ततामुक्त बनाउनु पर्छ । युवालाई लक्षित कार्यक्रममार्फत देशमै राख्ने वातावरण बनाउनु पर्छ र विदेशमा रहेका युवालाई पनि लक्षित कार्यक्रममार्फत देशमा फर्काउन प्रेरित गर्नुपर्छ ।
अन्त्यमा भन्नुपर्दा, रेमिट्यान्स आउनु खुसीको कुरा होइन, यो देशको दुखको कुरा हो । आफ्नै देशका युवा आफ्नै देशमा बस्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको मुख्य जिम्मेवारी हो ।