अर्घाखाँची । भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।
लु२च ५१७९ नम्बरको जिप भूमिकास्थान नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
भूमिकास्थान नगरपालिकाले शुक्रबारदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो । नगरपालिकाले दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका शुक्रबारका सबै खेल स्थगन गरिएको जनाएको छ ।