काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूमा समयमै नउठेको कर्जाबापत सकारेको सम्पत्ति पनि बढेको छ । यसलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म गैरबैंकिङ सम्पत्ति ५१ अर्ब सात करोड ६० लाख रुपैयाँ पुगेको हो ।
बैंक तथा फाइनान्स कम्पनीहरूमा सोही अवधिमा औसत पाँच दशमलव २६ प्रतिशत कर्जा निष्क्रिय कर्जा छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ८१ करोड ५० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकिङ क्षेत्रमा औसतमा चार दशमलव ४२ प्रतिशत कर्जा खराब हुँदा ३८ अर्ब २६ करोड १० लाख रुपैयाँबराबरको मात्र गैरबैंकिङ सम्पत्ति थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमा कुल पाँच दशमलव शून्य तीन प्रतिशत कर्जा खराब हुँदा ४३ अर्ब १९ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा १० अर्ब ८५ करोड ३० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूमा कुल चार दशमलव ५३ प्रतिशत कर्जा खराब हुँदा ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँबराबरको मात्र गैरबैंकिङ सम्पत्ति देखिएको थियो । विकास बैंकहरूमा पनि पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेको छ ।
गत कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा औसतमा छ दशमलव शून्य तीन प्रतिशत कर्जा खराब हुँदा चार अर्ब ८४ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा एक अर्ब १८ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरूमा औसतमा चार दशमलव ३७ प्रतिशत कर्जा खराब देखिँदा तीन अर्ब ६६ करोड ३० लाख रुपैयाँबराबरको मात्र गैरबैंकिङ सम्पत्ति देखिएको हो ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूमा पछिल्लो खराब कर्जासँगै गैरबैंकिङ सम्पत्ति पनि उच्चरूपमा बढेको छ । चालू आवको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरूमा खराब कर्जा बढेर १२ दशमलव ५२ प्रतिशत पुग्दा तीन अर्ब चार करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति गत आवको सोही अवधिको तुलनामा ७८ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूमा १० दशमलव ८४ प्रतिशत कर्जा खराब हुँदा दुई अर्ब २६ करोड १० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको थियो ।
पाँच वर्षमै थपियो ४१ अर्ब
बैंकिङ क्षेत्रमा पछिल्लो पाँच वर्षमा झण्डै ४१ अर्ब रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थपिएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ को असार मसान्तसम्ममा बैंकिङ क्षेत्रमा कुल १० अर्ब रुपैयाँबराबरको मात्र गैरबैंकिङ सम्पत्ति रहेको थियो । तर विसं २०८० असार मसान्तसम्ममा आइपुग्दा यस्तो सम्पत्ति आठ अर्ब रुपैयाँले बढेर १८ अर्ब रुपैयाँ पुगेको थियो ।
विसं २०८१ असार मसान्तसम्म भने यस्तो सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा दुई गुणाले बढेको देखिएको छ । उक्त अवधिमा बैंकिङ क्षेत्रमा रहेको घरजग्गा, व्यापारिक भवन, सवारीसाधनलगायतका गैरबैंकिङ सम्पत्ति बढेर ३५ अर्ब रुपैयाँबराबरको पुगेको थियो । राष्ट्र बैंकका अनुसार विसं २०८१ कात्तिक मसान्तसम्ममा भने बैंकिङ क्षेत्रमा रहेको गैरबैंकिङ सम्पत्ति अझै बढेर ३८ अर्ब रुपैयाँ पुगेको थियो । चालू आवको कात्तिक मसान्तसम्ममा भने यस्तो सम्पत्ति अझै बढेर ५१ अर्ब रुपैयाँ नाघेको छ ।