काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका भाग लिनको लागी नौ लाख भन्दा बढी मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गरी उक्त जानकारी दिएको हो । आयोगका अनुसार गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेका थिए । यस पटक नौ लाख १५ हजार एक सय १९ मतदाता थपिएको आयोगले जनाएको छ । प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष र ९२ लाख ४० हजार एक सय ३१ महिला रहेका छन भने अन्य दुई सय मतदाता गरेका छन् । कुल एक करोड ८९ लाख तीन हजार छ सय ८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए । यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार नौ सय ६७ मतदानस्थलमा २३ हजार एक सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । आसन्न निर्वाचनमा वि. सं. २०७९ को कुल मतदान स्थलको संख्या भन्दा ७५ वटा बढी निर्धारण गरिएको छ भने कुल मतदान केन्द्रको संख्या आठ सय ८५ ले वृद्धि भएको आयोगले जनाएको छ ।
समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आग्रह
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेश गर्न अनुरोध गरेको हो । उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
आयोगका अनुसार समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ ।