लन्डन, भदौ २१
विश्व बैंकका पूर्वप्रमुख रोबर्ट जोयलिकले विश्वका राष्ट्रहरुले एकजुट भएर वर्तमान कोरोना महामारीमा सहकार्य नगरे विश्व सन् १९०० कै अवस्थामा पुग्नसक्ने चेतावनी दिएका छन् । विश्व अर्थतन्त्र पुनरुत्थानमा अमेरिका र चीनबीचको तनाव बाधक रहेको समेत उनले बताएको बीबीसीले जनाएका छन् ।
जोयलिक अमेरिकाकै वरिष्ठ सार्वजनिक अधिकारीमध्येका एक हुन् । उनले छ जना अमेरिकी राष्ट्रपतिलाई आफ्नो सेवा अवधिमा सल्लाह दिइसकेका छन् । विश्व अर्थतन्त्र जोगाउन सबै देशहरुबीचको सहकार्य निर्विकल्प भएको उनको भनाइ छ । खासगरी विश्वका ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव खतरनाक भएको उनले बताएका छन् ।
बीबीसीको एसिया बिजनेस रिपोर्टसँगको कुराकानीमा जोयलिकले आफ्नो धारणा राखेको बताइएको छ । विश्वव्यापीकरण छोडेर देशहरु आफ्नै राष्ट्रिय स्वार्थमा केन्द्रित हुने अवस्थामा अहिले पनि विश्व सन् १९०० कै अवस्थामा पुग्नसक्ने उनको भनाइ छ ।
जोयलिकले सन् २००७ देखि २०१२ सम्म विश्व बैंकको प्रमुख रहेका थिए । उनी प्रमुख हुँद विश्व वित्तीय संकटमा थियो । तर संस्थाको प्रमुखको रुपमा उनले त्यतिबेला अन्तर्राष्ट्रिय मुद्राकोष र राष्ट्रहरुका सरकारसँग मिलेर वित्तीय संकट समाधानमा भूमिका खेलेका थिए ।
त्यस्तै जोयलिकले विश्व अर्थतन्त्रमा क्षति पुग्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारण मानेका छन् । उनले दुई रिपब्लिकन राष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस र जर्ज एचडब्ल्यू बुससँग पनि काम गरेका थिए । तर अहिलेका रिपब्लिक राष्ट्रपति आफूलाई मन नपरेको उनले बताएका छन् ।