काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ऐतिहासिक हिरक जयन्तीको अवसरमा ‘कर्पोरेट गल्फ’ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।
शनिबार सम्पन्न प्रतियोगिताका बिजेतालाई चेम्बर हिरक जयन्ती मूल समारोह समितिका अध्यक्ष एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले सम्मानसहित प्रमाण पत्र प्रदान गरेका थिए । उक्त प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुरस्कार तिवरण गरिएको थियो । सो अवसरमा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुन शर्माले ७५ वर्षको चेम्बर यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताए । उनले भने, ‘सात दशकभन्दा बढी समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’
उपाध्यक्ष शर्माले नेपालको खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको बताए । गल्फ प्रतियोगिताले केबल खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमानदारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिविम्बित गर्ने शर्माले बताए । स्थापनाको ७५औँ वर्षगाँठ तथा ऐतिहासिक हिरक जयन्ती चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।