काठमाडौं । डिजिटल राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले प्रयोगकर्ताको सुरक्षा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै २४सै घण्टा, सातै दिन सञ्चालन हुने कल सेन्टर तथा प्रत्यक्ष वाक–इन सपोर्ट सेवा संचालनमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार पठाओको २४÷७ कल सेन्टरमार्फत ग्राहकले पठाओ प्रयोगका क्रममा देखिने कुनै पनि समस्या, जिज्ञासा वा आपत्कालीन अवस्थाका लागि तत्काल सहयोग र समाधान पाउन सक्ने व्यवस्था गरिएको छ । दुर्घटना, विवाद, व्यवहारसम्बन्धी गुनासा, सामान हराउने, भुक्तानीसम्बन्धी समस्या तथा अन्य आपत्कालीन अवस्थाहरूमा कल सेन्टरले पहिलो प्रतिक्रिया दिने काम गरिरहेको कम्पनीले जनाएको छ । कल सेन्टरमा प्राप्त गुनासा तथा आपत्कालीन सूचनाहरू आवश्यक परे तत्कालै क्विक रेस्पोन्स टिम (क्यूआरटी) वा कम्प्लेन रिसोलुसन टिम (सीआरटी) मा पठाइने व्यवस्था गरिएको छ, जसले घटनाको छिटो र प्रभावकारी समाधान सुनिश्चित गर्ने पठाओको दाबी छ । कल सेन्टर सेवासँगै, प्रत्यक्ष सहयोग आवश्यक पर्ने प्रयोगकर्ताका लागि पठाओले वाक–इन सपोर्ट सेन्टर पनि सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त सपोर्ट सेन्टर आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ । वाक–इन सपोर्टमार्फत चालक तथा ग्राहकलाई प्रत्यक्ष र व्यक्तिगत परामर्श प्रदान गरिन्छ ।
वाक–इन सपोर्ट सेन्टरबाट पठाओ चालकका अकाउन्टसम्बन्धी समस्या, कागजात अद्यावधिक, तालिम, सल्लाह, सुरक्षा सम्बन्धी जानकारी, भुक्तानीसम्बन्धी प्रश्न तथा अन्य सेवा–सम्बन्धी जटिलताहरू छिटो समाधान गरिने बताइएको छ । यसले सेवा प्रयोगकर्तालाई आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न, आवश्यक प्रमाण पेस गर्न तथा समाधान प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ । विशेष गरी नयाँ पठाओ चालकले दर्ता प्रक्रियामा भोगेका समस्या, कागजात अद्यावधिक गर्नुपर्ने वा जटिल केस भएका प्रयोगकर्ताका लागि वाक–इन सपोर्ट सेवा अत्यन्त प्रभावकारी हुने पठाओको भनाइ छ । कम्पनीका अनुसार कल सेन्टर र वाक–इन सपोर्ट सेवाले पठाओको सुरक्षा, पारदर्शिता र सेवा विश्वसनीयतालाई थप मजबुत बनाएको छ । यी सहायता प्रणालीमार्फत कुनै पनि समय र अवस्थामा उत्पन्न हुने समस्यालाई ढिलाइ वा बेवास्ता नगरी समाधान गर्ने पठाओले प्रतिबद्धता जनाएको छ ।